कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–६, बघुरियास्थित श्री वडातडो माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षकले तलब भत्ता नपाएको भन्दै आफ्नो पदबाट राजीनामा दिएका छन्।
विद्यालयमा निजी स्रोतबाट माध्यमिक तह तृतीय श्रेणीको ’विज्ञान तथा प्रविधि’ विषय अध्यापन गराउँदै आएका शिक्षक दिर्क सुनारले मङ्गलवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकसमक्ष राजीनामा पत्र बुझाएका हुन्।
शिक्षक सुनारले २०८१ साउन २० गतेदेखि उक्त विद्यालयमा निरन्तर सेवा गर्दै आएका थिए। तर, विद्यालयमा सिर्जित आर्थिक सङ्कटका कारण विगत केही महिनादेखि नियमित रूपमा पाउनुपर्ने तलब तथा भत्ता नपाउँदा दैनिक जीवनयापन गर्नै अत्यन्तै कठिन भएपछि यो निर्णय लिनुपरेको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
कसैको डर, त्रास वा करकापमा नपरी पूर्ण होस–हवासमा आर्थिक अभावकै कारण राजीनामा दिएको स्पष्ट पार्दै उनले भनेका छन्, “विगत केही महिनादेखि नियमित रूपमा तलब भत्ता नपाएको कारणले गर्दा दैनिक जीविकोपार्जनमा अत्यन्तै कठिनाइ भएको हुँदा अन्य विकल्प अपनाएर विद्यालयमा सेवालाई निरन्तरता दिन नसक्ने भएकाले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको छु।”
आफ्नो कार्यकालमा सहयोग गर्ने विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, सहकर्मी शिक्षकहरू तथा सम्पूर्ण विद्यालय परिवारप्रति हार्दिक आभार प्रकट गर्दै उनले विद्यार्थी तथा अभिभावकहरूमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेको समेत जनाएका छन्।
सामुदायिक विद्यालयहरूमा निजी स्रोतमा कार्यरत शिक्षकहरूले समयमा सेवा सुविधा नपाउँदा उनीहरूको जीवनयापनमा परेको असर र यसले पठनपाठनमा पार्न सक्ने प्रभावको एक उदाहरणका रूपमा यस घटनालाई लिइएको छ।





