सुखड, कैलाली १ कार्तिक // कैलालीको घोडाघोडी नगरपालिका–१, सुखड बजारमा रोयल डान्स स्टुडियोले आयोजना गरेको ‘कैलाली डान्सिङ स्टार २०८३’ सिजन–१ को उपाधि मानवी साउदले जितेकी छन्।
ग्रान्ड फिनालेमा उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेकी साउदले नगद १ लाख १ हजार रुपैयाँ, ट्रफी तथा सम्मानपत्र प्राप्त गरेकी छन्।प्रतियोगिताको अन्तिम चरणमा १३ जना प्रतिस्पर्धी सहभागी भएका थिए।
विभिन्न चरणका अडिसनदेखि सेमिफाइनलसम्मको प्रतिस्पर्धा पार गर्दै ग्रान्ड फिनालेमा प्रवेश गरेका प्रतियोगीबीच भएको प्रतिस्पर्धामा मानवीले उपाधि जित्न सफल भएकी हुन्। प्रतियोगितामा उपासना रावल द्वितीय स्थान हासिल गर्दै प्रथम रनरअप बनिन् भने कपिल सुनार तृतीय स्थानसहित दोस्रो रनरअप बने। त्यसै गरी काव्य ओझाले चौथो स्थान हासिल गर्दै तेस्रो रनरअपको उपाधि प्राप्त गरिन्।
अन्य नौ जना प्रतिस्पर्धीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।त्यस्तै, तनिशा साउदले उत्कृष्ट रनरअपका रूपमा विशेष पुरस्कारस्वरूप एक थान मोबाइल फोन प्राप्त गरिन्। उनलाई कार्यक्रमका विशिष्ट अतिथि तथा चर्चित मोडेल सुनिल क्षेत्रीले उक्त उपहार हस्तान्तरण गरेका थिए।
प्रतियोगितामा द्वितीय हुने उपासना रावलले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी था सम्मानपत्र र तृतीय हुने कपिल सुनारले नगद ३५ हजार ५ सय ११ रुपैयाँसहित ट्रफी तथा सम्मानपत्र प्राप्त गरेका थिए।
प्रतियोगिताको नतिजा दर्शकको भोटिङ र अनुभवी डान्सरहरूको निर्णायक मूल्याङ्कनका आधारमा निर्धारण गरिएको आयोजकले जनाएको छ। स्थानीयस्तरमा लुकेर रहेका नृत्य प्रतिभालाई उजागर गर्ने र बालबालिका तथा युवालाई आफ्नो कलामार्फत भविष्य निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रोयल डान्स स्टुडियोका सञ्चालक प्रलभ बुढाथोकीले बताए।
उनका अनुसार नृत्य मनोरञ्जनको माध्यम मात्र नभई स्वास्थ्यका लागि समेत उपयोगी क्रियाकलाप हो। नृत्यमार्फत सामाजिक तथा सन्देशमूलक गतिविधि प्रस्तुत गरी समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सकिने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए।
कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर राउतले आयोजक रोयल डान्स स्टुडियोलाई बधाई तथा शुभकामना दिँदै प्रतियोगितामा सहभागी सबै प्रतिस्पर्धीको उज्ज्वल भविष्यको कामना गरे। जिल्लास्तरीय नृत्य प्रतियोगिताले घोडाघोडी नगरपालिकाको पहिचान र सम्मान बढाउन योगदान पुर्याएको उल्लेख गर्दै उनले आगामी दिनमा यस्ता रचनात्मक कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
त्यस्तै, घोडाघोडी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष निशान्त हमालले आयोजक परिवारलाई धन्यवाद दिँदै सहभागी कलाकारहरूको प्रशंसा गरे। उनले आगामी दिनमा उद्योग वाणिज्य सङ्घले समेत महोत्सव आयोजना गरी घोडाघोडी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा व्यापार व्यवसायको विकासमा जोड दिने बताए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा चर्चित मोडेल सुनिल क्षेत्री, सीएस अस्पतालका प्रबन्धक विष्णुप्रसाद सापकोटा तथा इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा निर्णायकहरू दिनेश बोहोरा, हरिस साउद, पत्रकार, कलाकार, प्रतिस्पर्धीका अभिभावक तथा दर्शकहरूको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रमको सभाध्यक्षता रोयल डान्स स्टुडियोका प्रबन्धक प्रलभ बुढाथोकीले गरेका थिए भने सञ्चालन प्रशान्त क्षेत्रीले गरेका थिए।
आयोजकका अनुसार ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्ने १३ जना प्रतियोगीमा काव्य ओझा, उपासना रावल, एल्बिरा खड्का, तनिशा साउद, दीक्षा ऐर, प्रशान्त जोशी, काव्य भट्ट, कपिल सुनार, माल्वीरा बिष्ट, मानवी साउद, दिबेन्स उपाध्याय, पुरन विक र दिपिका विक रहेका थिए।
प्रतियोगिताले स्थानीय प्रतिभालाई पहिचान र प्रोत्साहन गर्नुका साथै युवापुस्तालाई नृत्य क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
नोट: कपिल सुनार तेस्रो स्थानमा रहेको र काव्य ओझा चौथो स्थानमा रहेका छन । भने वास्तविक प्रविधिक भुलवस भएको रोयल डान्सिङ स्टुडियो का संचालक प्रलभ बुढाथोकीले जानकारी दिएका छन्।
