कैलाली ३ कार्तीक २०८३ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री खुशिराम डगौरा थारुले कैलालीको बर्दगोरिया गाउँपालिकास्थित बर्दगोरिया सहारा घरको अवलोकन भ्रमण गरेका छन्। विजयादशमीको अवसरमा मन्त्री थारुले सहारा घरमा रहेका असहाय तथा विपन्न नागरिकहरूको अवस्थाबारे जानकारी लिँदै उनीहरूको हक, अधिकार र जीवन रक्षाका लागि प्रदेश सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
मन्त्री थारुले पिछडिएका वर्ग, गरिब तथा विपन्न नागरिकहरूको प्रतिनिधित्व गर्दै सरकारमा जिम्मेवारी सम्हाल्ने अवसर जनताले दिएको अभिमतको सम्मान गर्दै आफू नागरिकका हक, अधिकार र समस्याको सम्बोधनका लागि निरन्तर लागिपरेको बताए।
मन्त्री थारु आफ्नी धर्मपत्नीसमेतको उपस्थितिमा सहारा घर पुगेका थिए। सहारा घरका सञ्चालक बलबहादुर विष्टले मन्त्री थारुलाई स्वागत गर्दै त्यहाँ रहेका असहाय नागरिकहरूको अवस्था र सहारा घरले गर्दै आएका गतिविधिबारे जानकारी गराएका थिए।
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य थारुले मन्त्रीको जिम्मेवारी सम्हालेपछि नागरिकका समस्या बुझ्ने, जनतासँग सहकार्य गर्ने तथा उनीहरूको समस्याको समाधानका लागि पहल गरिरहेको जनाइएको छ।
सो अवसरमा सहारा घरका सञ्चालक विष्टले गरिब तथा पिछडिएका वर्गबाट प्रतिनिधित्व गर्दै थारु समुदायका छोरा प्रदेश सरकारको नेतृत्वदायी जिम्मेवारीमा पुग्नु सम्मानको विषय भएको बताए। उनले कानुन निर्माणको महत्वपूर्ण जिम्मेवारी सम्हालेका मन्त्री थारुलाई धन्यवाद दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
भ्रमणका क्रममा मन्त्री थारुले सहारा घरमा रहेका गरिब, असहाय तथा दुःखी नागरिकहरूका लागि खाद्यान्न सहयोगसमेत गरेको जनाइएको छ। उनले उनीहरूको जीवनयापन सहज बनाउन र आवश्यक सहयोग उपलब्ध गराउन प्रदेश सरकारका तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसअघि मन्त्री थारुले दार्चुलामा पहिरोबाट प्रभावित नागरिकहरूलाई राहत सहयोग गरेका थिए। मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नागरिकका समस्या सम्बोधन, कानुनी जटिलता समाधान तथा आवश्यक कानुन निर्माणका काममा आफू प्रतिबद्ध रहेको उनले बताएका छन्।
मन्त्री थारुको सहारा घर भ्रमणलाई असहाय तथा विपन्न नागरिकप्रति राज्यको चासो र सहयोगको प्रतिबद्धताका रूपमा हेरिएको छ।
