मोहन्याल, १० कार्तिक। कैलालीको मोहन्याल गाउँपालिका–सोल्टामा निर्माणाधीन १० शय्याको अस्पताल र चिसापानी–कुइने सडक निर्माणमा देखिएको अन्योलता हटाउँदै दुवै आयोजनाको काम अघि बढाउने सहमति भएको छ।
प्रतिनिधिसभा सदस्य प्रेमबहादुर बयकको चासो तथा मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय ‘हिमशिखर’ को सक्रियतामा अस्पताल निर्माण व्यवसायीका प्रतिनिधि उमेशजंग शाहीसहित सरोकारवालाबीच भएको छलफलपछि निर्माण कार्यलाई निरन्तरता दिने सहमति जुटेको हो।
अस्पताल निर्माणस्थलमा दुवै पक्षका प्राविधिकको उपस्थितिमा हालसम्म सम्पन्न कामको प्रगति मूल्याङ्कन तथा नापजाँचसमेत गरिएको थियो। कार्यसम्पादन मूल्याङ्कनका क्रममा निर्माण व्यवसायीले भुक्तानी पाउन बाँकी रहेको पाइएमा गाउँपालिकाले आवश्यक प्रक्रिया पूरा गरी भुक्तानी गर्ने र भुक्तानी भइसकेको अवस्थामा बाँकी निर्माण कार्य तत्काल अघि बढाउने सहमति भएको जनाइएको छ।
यसैगरी, कैलालीको मोहन्याललाई सुर्खेतको चौकुने र पञ्चपुरी क्षेत्रसँग जोड्ने चिसापानी–कुइने सडक निर्माणमा भइरहेको ढिलाइबारे पनि छलफल गरिएको छ। निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाअन्तर्गत तत्कालीन प्रतिनिधिसभा सदस्य झपट रावलको कार्यकालमा सुरु भएको उक्त सडक निर्माणलाई गति दिन निर्माण व्यवसायीले प्रतिबद्धता जनाएको बताइएको छ।
सहमति अनुसार तिहारअघि सडक मर्मत गर्ने र तिहारपछि बाँकी निर्माण कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ। सडक निर्माणमा भएको ढिलाइले स्थानीय नागरिकको आवागमनमा परेको समस्यालाई मध्यनजर गर्दै आयोजनाको कामलाई प्रभावकारी रूपमा अघि बढाउन सरोकारवालाले जोड दिएका छन्।
प्रतिनिधिसभा सदस्य प्रेमबहादुर बयकले अस्पताल र सडक स्थानीय नागरिकको स्वास्थ्य सेवा तथा आवागमनसँग प्रत्यक्ष जोडिएका महत्वपूर्ण पूर्वाधार भएको उल्लेख गर्दै निर्माण कार्यमा थप ढिलाइ नगर्न आग्रह गरेका छन्।
निर्माणका क्रममा कुनै समस्या आए आवश्यक सहजीकरण तथा सहयोग गर्न आफू तयार रहेको बताउँदै सांसद बयकले दुवै आयोजना समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन्।
दुवै आयोजनाको निर्माण कार्य अघि बढाउने सहमतिसँगै स्थानीयवासीले स्वास्थ्य सेवा र सहज आवागमनका लागि लामो समयदेखि प्रतीक्षा गरिरहेका पूर्वाधार निर्माणले गति लिने अपेक्षा गरिएको छ।
जनहित खबर ।।
