जनहित खबर

Janahit khabar

मनाेरंजन सबै समाचार

बडिमालिका खुल्ला फुटबल प्रतियोगिता २०८३ सम्पन्न, सनसाइन युवा क्लब विजयी

घोडाघोडी ६ भाद्र २०८३ । “स्वस्थ युवा, सबल समाज, बडिमालिका युथ क्लबको अटल विश्वास” भन्ने मूल नाराका साथ आयोजना गरिएको बडिमालिका खुल्ला फुटबल प्रतियोगिता–२०८३ सम्पन्न भएको छ।

घोडाघोडी नगरपालिका–१, ज्वालानगरस्थित खेलमैदानमा साउन २९ गतेदेखि सञ्चालन भएको प्रतियोगिता भाद्र ६ गते वडा नं. १ का वडा सदस्य अमन चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।प्रतियोगिताको फाइनल खेलमा सनसाइन युवा क्लबले बडिमालिका युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गरेको छ। बडिमालिका युथ क्लब दोस्रो स्थानमा सीमित भएको हो। प्रतियोगितामा विभिन्न १६ वटा टिमको सहभागिता रहेको थियो।

प्रतिस्पर्धात्मक खेलबाट फाइनलमा सनसाइन युवा क्लब र बडिमालिका युथ क्लब पुगेका थिए। विजेता सनसाइन युवा क्लबलाई नगद ७ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता बडिमालिका युथ क्लबलाई नगद ३ हजार ५ सय रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार तथा प्रमाणपत्र प्रमुख अतिथि वडा सदस्य अमन चौधरी र क्लबका अध्यक्ष नरेश जंग शाहीले खेलाडीहरूलाई हस्तान्तरण गरेका थिए।

समापन कार्यक्रममा जनहित खबरका पत्रकार तथा बडिमालिका युथ क्लबका उपाध्यक्ष रोशन रसाइलीले “राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल” भन्ने उद्देश्यका साथ युवाहरूलाई खेलकुदमा आबद्ध गराई उनीहरूको भविष्य निर्माण गर्न तथा लागूऔषध दुर्व्यसनबाट टाढा राख्न यस्ता प्रतियोगिता आयोजना गरिएको बताए। उनले आगामी दिनमा पनि विभिन्न खेलकुदका कार्यक्रम सञ्चालन गर्न क्लब अग्रसर रहने बताए।

क्लबका अध्यक्ष नरेश जंग शाहीले प्रतियोगिता सफल बनाउन आर्थिक, भौतिक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै सहभागी खेलाडीहरूलाई शुभकामना दिए।कार्यक्रमको सञ्चालन क्लबका सचिव तथा शिक्षक भजनबहादुर शाहीले गरेका थिए।

क्लबले युवाहरूलाई खेलकुदमार्फत सकारात्मक गतिविधिमा जोड्ने, प्रतिभाको पहिचान गर्ने तथा स्वस्थ र अनुशासित समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *