जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

सबै

सुर्खेतमा निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, ६३१ जनाले पाए सेवा

सुर्खेत, १५ असार — ह्याप्पी साेल्स (Happy Souls) र गोपाल निना फाउन्डेसन नेपालगञ्जको संयुक्त आयोजनामा सुर्खेतको भेरीगंगा नगरपालिका–१२ स्थित छिन्चु स्वास्थ्य चौकीमा सञ्चालन गरिएको एकदिने निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय नागरिक लाभान्वित भएका छन्।

असार १३ गते आयोजित शिविरमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूले बिरामीहरूको स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा निःशुल्क प्रदान गरेका थिए। ग्रामीण तथा आर्थिक रूपमा विपन्न नागरिकलाई आफ्नै समुदायमै गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।

गोपाल निना फाउन्डेसन नेपालगञ्जको समन्वयमा छिन्चु स्वास्थ्य चौकी, हाम्रो बहिनी सुर्खेत तथा सुर्खेत महिला स्वास्थ्य क्लिनिकको सहकार्यमा सम्पन्न शिविरमा वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सोजन सापकोटा, मनोरोग विशेषज्ञ डा. सुशिल समदर्शी, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. राम विष्ट, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. गणेश तिवारी तथा कन्सल्टेन्ट जनरल फिजिसियन एवं इमरजेन्सी फिजिसियन डा. सरोज गिरीले सेवा प्रदान गर्नुभएको थियो।

शिविरमा शल्यसम्बन्धी समस्या, मानसिक स्वास्थ्य, महिला तथा प्रसूति स्वास्थ्य, हाडजोर्नी तथा नशारोगसँग सम्बन्धित समस्या तथा विभिन्न दीर्घ र सामान्य रोगका बिरामीहरूको परीक्षण तथा उपचार गरिएको थियो।

विशेषज्ञ चिकित्सकबाट आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय बासिन्दा उत्साहित भएका छन्। सहभागीहरूले यस्ता शिविरले उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता घटाएको र समयमै स्वास्थ्य परीक्षण तथा परामर्श पाउन सहज भएको प्रतिक्रिया दिएका छन्।

आयोजकका अनुसार ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकको पहुँच अझै सीमित रहेकाले यस्ता स्वास्थ्य शिविरले समयमै रोग पहिचान, आवश्यक परामर्श तथा उपचार सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, नियमित स्वास्थ्य परीक्षणप्रति नागरिकलाई सचेत बनाउन पनि यस्ता कार्यक्रम प्रभावकारी हुने जनाइएको छ।

ह्याप्पी साेल्स र गोपाल निना फाउन्डेसन नेपालगञ्जले आगामी दिनमा पनि दुर्गम तथा स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रमा यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिँदै सर्वसाधारणलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्राेतः युग

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *