सुखड, कैलाली । घोडाघोडी नगरपालिका–२ साडेपानीमा आयोजित कैलाली रोयल डान्सिङ स्टार प्रतियोगिता २०८३ को सेमिफाइनल चरण सम्पन्न भएको छ।
विभिन्न चरणमा अडिसनदेखि सेमिफाइनलसम्मको कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको आयोजक रोयल्स डान्स स्टुडियोले जनाएको छ। सेमिफाइनल चरणमा प्रवेश गरेका १४ जना प्रतिस्पर्धीमध्ये प्रवेशिका साउद प्रतियोगिताबाट बाहिरिएकी छन्। बाँकी १३ जना प्रतिस्पर्धी फाइनल चरणमा प्रवेश गरेका छन्।

फाइनलमा प्रवेश गर्ने प्रतिस्पर्धीहरूमा काव्य ओझा, उपासना रावल, एल्बिरा खड्का, तनिसा साउद, दीक्षा ऐर, प्रशान्त जोशी, काव्य भट्ट, कपिल सुनार, माल्वीरा बिष्ट, मानवी साउद, दिबेन्स उपाध्याय, पुरन बिक र दिपिका बिक रहेका छन्।
उनीहरूको छनोट जज दिनेश बोहोरा र हरिस साउदको संयुक्त निर्णयबाट गरिएको आयोजकले जनाएको छ।सेमिफाइनलसम्म पुगेका प्रतिस्पर्धीहरूले नेपाली संस्कृति झल्काउने तथा सन्देशमूलक गीतहरूमा अभिनय गर्दै उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए। प्रतियोगिताले स्थानीयस्तरमा लुकेर रहेका नृत्य प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ।
आयोजकका अनुसार प्रतियोगिताको फाइनल राउन्ड घोडाघोडी नगरपालिका–१, सुखड बजारस्थित हेलिप्याडमा खुला कार्यक्रमका रूपमा आयोजना गरिनेछ। फाइनलका लागि बाहिरबाट थप अनुभवी जज तथा चर्चित कलाकारहरूलाई समेत निमन्त्रणा गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने प्रतिस्पर्धीले रु. १ लाख १ हजार नगद, ट्रफी, सम्मानपत्र तथा एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछन्। यस्तै, द्वितीय हुनेले रु. ५५ हजार ५ सय ५५ नगदसहित सम्मानपत्र तथा तृतीय हुनेले रु. ३५ हजार ५ सय ११ नगदसहित सम्मानपत्र प्राप्त गर्ने रोयल्स डान्स स्टुडियोका सञ्चालक प्रलभ बुढाथोकीले बताएका छन्।
सञ्चालक बुढाथोकीका अनुसार प्रतियोगिता उदाउँदै गरेका बालबालिका तथा युवालाई आफ्नो कलाबाट पनि भविष्य निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास र अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो। स्थानीयस्तरमा लुकेर रहेका प्रतिभालाई आम नागरिकमाझ ल्याउनुका साथै युवालाई नृत्य क्षेत्रमा आकर्षित गर्ने उद्देश्यसमेत प्रतियोगिताको रहेको उनले बताए। नृत्य मनोरञ्जनसँगै स्वास्थ्यका लागि समेत उपयोगी क्रियाकलाप भएकाले नृत्यमार्फत विभिन्न सामाजिक तथा सन्देशमूलक गतिविधि प्रस्तुत गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सकिने बुढाथोकीको भनाइ छ।
उनले युवा पुस्तालाई आफ्नो प्रतिभा पहिचान गर्दै नृत्य क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए। कार्यक्रमको सञ्चालन प्रशान्त क्षेत्रीले गरेका थिए। कार्यक्रममा जज दिनेश बोहोरा, हरिस साउद लगायत प्रतिस्पर्धीका अभिभावकहरूको उपस्थिति रहेको थियो।
प्रकाशित मिति २०८२ भाद्र २० जनहित खबर

