कैलाली, २३ भाद्र २०८३— कैलालीको घोडाघोडी नगरपालिका–८ कल्जुगीमा रहेको श्री जनविश्वास कृषि सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ।

सहकारी संस्थाले बाढीपीडितका लागि रु. १२ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको संस्थाका अध्यक्ष टेकबहादुर लामिछानेले जानकारी दिनुभयो।

अध्यक्ष लामिछानेले विपत्तिको समयमा विश्वभरबाट सहयोग भइरहेको अवस्थामा गाउँमा मिलेर सञ्चालन गरिएको कृषि सहकारी संस्थाले ठूलो सहयोग गर्न नसके पनि मानवीय भावनाका साथ आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरिएको बताउनुभयो। उहाँले बाढीबाट प्रभावित नागरिकको पीडामा केही राहत पुग्ने विश्वास व्यक्त गर्दै विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभयो।

त्यस्तै, संस्थाका उपाध्यक्ष तथा संस्थापक अध्यक्ष धनबहादुर विश्वकर्माले विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएको बताउनुभयो। उहाँले दुःखको घडीमा पीडित नागरिकलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने धारणा राख्दै बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्नुभयो।
संस्थाका लेखा संयोजक करवीर लामिछानेले पनि रसुवा बाढीपीडितका लागि सहकारी संस्थाले आर्थिक सहयोग गरेको बताउँदै विपत्तिमा परेका परिवारलाई आर्थिक तथा मानवीय सहयोग गर्नु महत्वपूर्ण सेवा भएको उल्लेख गर्नुभयो।
यसैगरी, संस्थाका सचिव रोशन रसाइलीले विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सम्पूर्ण मानव समुदायको साझा दायित्व भएको बताउनुभयो। विश्वभरबाट सहयोग जुटिरहेको अवस्थामा जनविश्वास कृषि सहकारीले पनि आफ्नो तर्फबाट सहयोग गरेको उहाँले जानकारी दिनुभयो।
सहकारी संस्थाले गरेको उक्त सहयोगले विपत्तिमा परेका नागरिकको राहत तथा पुनःस्थापनामा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।
