काठमाडौं । प्रधानमन्त्री बालेन शाह र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा बिहीबार भएको भेटवार्तामा घिसिङ नेतृत्वको टोलीले बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या तथा सरकारले तत्काल गर्नुपर्ने कामबारे प्रधानमन्त्री शाहलाई सुझाव दिएको हो ।

भेटपछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै अध्यक्ष घिसिङले विपद्को अवस्थामा फिल्डमा पुगेर देखिएका, बुझेका र गर्नुपर्ने विषयबारे सरकारलाई लिखित तथा मौखिक सुझाव दिइएको बताए ।

उनका अनुसार विशेषगरी उद्धार, राहत र पुनर्स्थापनाका विषयमा समग्र सुझाव दिइएको छ ।

भेटका क्रममा प्रधानमन्त्री शाहले जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका नागरिकको उद्धारका विषयमा विशेष चासो राखेका थिए । प्रधानमन्त्रीले सुरुङभित्र फसेका नागरिकलाई कसरी उद्धार गर्न सकिन्छ भन्नेबारे घिसिङ नेतृत्वको टोलीसँग जिज्ञासा राखेका थिए ।

अध्यक्ष घिसिङले सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि आफूहरूले बुझेका तथा गर्नुपर्ने कामबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए ।

घिसिङका अनुसार उद्धार कार्यलाई जुनसुकै अवस्थामा पनि अघि बढाउने प्रधानमन्त्री शाहले प्रतिबद्धता जनाएका छन् । आवश्यक परे जुनसुकै प्रकारको जनशक्ति तथा स्रोतसाधन परिचालन गरेर भए पनि उद्धार कार्य अघि बढाउने प्रधानमन्त्रीको भनाइ थियो ।

बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत वितरण र विस्थापितको पुनर्स्थापनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने विषयमा पनि भेटवार्तामा जोड दिइएको बताइएको छ ।

घिसिङले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘उहाँले पनि यो विषयमा हामी सकेको जुनसुकै काम गर्नुपरे पनि गर्छौं । जुनसुकै अवस्थामा पनि जस्तोसुकै परिचालन गर्नुपरे पनि परिचालन गरेर अगाडि बढ्ने भन्नुभएको छ ।’

भेटवार्तामा पछिल्लो विपद्को अवस्था, प्रभावित नागरिकको तत्काल उद्धार तथा राहत, जोखिमयुक्त क्षेत्रमा आवश्यक व्यवस्थापन र दीर्घकालीन पुनर्स्थापनाका विषयमा समेत छलफल भएको जनाइएको छ ।

प्रकाशित १९ भाद्र २०८३ / जनहित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *