कैलाली । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि श्री जयगडी एकता समाजले रु १ लाख १५ हजार ५५५ आर्थिक सहयोग गरेको छ।

भाद्र १० गते आएको बाढीबाट प्रभावित नागरिकहरूको दुःखमा साथ दिने उद्देश्यले प्रवासमा रहेका श्री जयगडी एकता समाजका सम्पूर्ण सदस्यहरूको संयुक्त सहभागितामा उक्त रकम संकलन गरिएको समाजले प्रधानमन्त्री विपत् राहात कोष मार्फत सहयोग गरेको जनाएका छन्। बाढीपीडितको पीडामा साथ दिन समाजका सदस्यहरूले यस वर्ष हरितालिका तीज नमनाउने निर्णय गर्दै सो रकम राहतस्वरूप सहयोग गरेका हुन्।
समाजले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको भन्दै मानवताको भावनाले आर्थिक सहयोग गरिएको जनाएको छ।

भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति समाजले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
‘पीडितहरूका लागि सहयोग गरौँ, मानवताको भावनाको प्रदर्शन गरौँ’ भन्ने मूल नारासहित जयगडी परिवारले बाढीपीडितका लागि सहयोग गरेको जनाइएको छ। समाजले विपद्को समयमा सबैलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नसमेत आग्रह गरेको छ।
प्रकाशित जनहित खबर १७ भाद्र २०८३ //
