टीकापुर, १७ भदौ २०८३ । रसुवा, नुवाकोट र त्रिशूली क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि टीकापुरस्थित ओम कृष्ण हस्पिटल एण्ड रिसर्च प्रालिले राहत सहयोग गरेको छ।

अस्पतालले बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ११ हजार १०१ रुपैयाँ सहयोग गरेको जनाएको छ।भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा हजारौँ नागरिक प्रभावित भएको अवस्थामा पीडित परिवारको दुःखमा साथ दिन सहयोग गरिएको अस्पतालले जनाएको हो।

दुःखमा परेका नागरिकको घाउमा मलम लगाउने उद्देश्यले रकम सहयोग गरिएको अस्पतालको भनाइ छ। विपत्तिको समयमा देश तथा विदेशबाट जिन्सी र नगद राहत संकलन भइरहेका बेला आफ्नो तर्फबाट पनि मानवीय सहयोग गरिएको अस्पतालले जनाएको छ।

अस्पतालले आफूहरूले प्रदान गरेको लगायत संकलित राहत रकम वास्तविक बाढीपीडित तथा प्रभावित परिवारसम्म पुग्ने गरी प्रभावकारी रूपमा सदुपयोग गर्न सरकारसँग आग्रह गरेको छ।प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएकाले मानवीय भावना र सहकार्यका साथ पीडित परिवारलाई सहयोग गर्न अस्पतालले अपिलसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *