सुखड, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा आयोजित रक्तदान कार्यक्रममा ५६ पिन्ट रगत सङ्कलन भएको छ।घोडाघोडी उद्योग वाणिज्य सङ्घको आयोजना तथा घोडाघोडी सुनचाँदी व्यवसायी सङ्घको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै मानवीय सहयोगस्वरूप रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायी, स्थानीयवासी, विद्यार्थी तथा सामाजिक व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो। विपद्को समयमा प्रभावित नागरिकको जीवनरक्षामा सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम सञ्चालन गरिएको आयोजकको भनाइ छ।

घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द्रप्रसाद आचार्यले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताए। बाढीबाट प्रभावित परिवारलाई राहत तथा सहयोगको आवश्यकता रहेकाले सङ्घले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले रक्तदानसँगै राहत सामग्री सङ्कलन अभियानसमेत सञ्चालन गरिरहेको उनले जानकारी दिए।रक्तदानमा सहभागीहरूले विपद्को समयमा आफूले सक्ने सहयोग गरेर पीडित नागरिकको जीवनरक्षामा योगदान गर्नुपर्ने बताएका थिए।

कार्यक्रममा सङ्कलित रगत आवश्यकता अनुसार बाढी प्रभावित तथा अन्य बिरामीको उपचारमा प्रयोग गरिने जनाइएको छ।घोडाघोडी उद्योग वाणिज्य सङ्घले यसअघि नै भोटेकोशी बाढीपीडितको सहयोगार्थ राहत सामग्री सङ्कलन अभियान सञ्चालन गर्दै आएको छ। सङ्घले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले आगामी दिनमा पनि विभिन्न सामाजिक तथा मानवीय गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित भाद्र १६, २०८३ जनहित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *