काठमाडौं, भदौ १४ — भोटेकोशी क्षेत्रमा भएको विपत्तिपछि नेपाललाई विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारबाट राहत तथा उद्धार सामग्री र आर्थिक सहयोग प्राप्त हुन थालेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार भारतबाट पाँच वटा उडानमार्फत ६८.५ टनभन्दा बढी उद्धार तथा राहत सामग्री नेपाल आइपुगेको छ। भारतबाट प्राप्त सामग्रीमा औषधि, खाद्यान्न, डिग्निटी किट, टेन्ट, सोलार ल्याम्पलगायतका सामग्री छन्। भारतले बेलीब्रिजसमेत उपलब्ध गराउँदैछ।

त्यस्तै, चीनबाट ५० टनभन्दा बढी राहत तथा उद्धार सामग्री नेपाल आइपुगेको छ। चीनबाट प्राप्त सामग्रीमा ब्ल्याङ्केट, शव राख्ने झोलालगायतका सामग्री रहेका छन्।

श्रीलंकाले नेपाललाई १० लाख अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। संयुक्त अरब इमिरेट्सबाट ब्याग, सोलार लाइटलगायतका सामग्री प्राप्त भएका छन्।

पाकिस्तान र बंगलादेशबाट पनि राहत सामग्री आउने तयारी भइरहेको छ। म्यानमार, सिंगापुर, अस्ट्रेलिया, जापान, बेलायत र कतारबाट राहत सामग्री आउने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। युरोपियन युनियन, अमेरिका र क्यानडालगायतका मुलुकबाट समेत सहयोगका प्रतिबद्धता प्राप्त भइरहेको मन्त्रालयका प्रवक्ता पौडेल क्षेत्रीले बताएका छन्।

एक हजारभन्दा बढी फ्रिजर र डीएनए परीक्षण किट आवश्यक

उद्धार तथा राहत कार्यका लागि नेपाललाई अझै ठूलो परिमाणमा सामग्री आवश्यक रहेको मन्त्रालयले जनाएको छ।

हाल सोलार ल्याम्प, त्रिपाल, डिवाटरिङ पम्पलगायतका सामग्री प्राप्त भइरहेका छन्। तर विपत्तिमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको पहिचानका लागि एक हजारभन्दा बढी फ्रिजर र डीएनए परीक्षण किट आवश्यक रहेको प्रवक्ता पौडेल क्षेत्रीले बताए।

नेपालले यस्ता सामग्री उपलब्ध गराउन अस्ट्रेलिया र युरोपियन युनियनलगायतका मुलुकसँग आग्रह गरेको छ।

भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोली उद्धारमा

विपद्पछिको उद्धार तथा खोजी कार्यमा सहयोग गर्न विभिन्न मुलुकका विज्ञ टोलीसमेत नेपाल आएका छन्।

भारतबाट ११ सदस्यीय विज्ञ टोली उद्धारका लागि नेपाल आएको छ भने चीनबाट ९ सदस्यीय विज्ञ टोली परिचालित भएको छ। दक्षिण कोरियाबाट पनि उद्धार कार्यमा सहयोग गर्न टोली आएको छ।

त्यस्तै, विभिन्न मुलुकका कन्सुलर तथा लियाजन टोलीले प्रभावित क्षेत्रमा प्रशासनलाई आवश्यक समन्वय तथा सहयोग गरिरहेका छन्।

२६१ विदेशी नागरिकको उद्धार, ४ सयभन्दा बढी सम्पर्कविहीन

भोटेकोशी विपत्तिपछि अहिलेसम्म २६१ जना विदेशी नागरिकको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर ४ सयभन्दा बढी विदेशी नागरिक अझै सम्पर्कविहीन रहेको मन्त्रालयका प्रवक्ता पौडेल क्षेत्रीले बताएका छन्।

उद्धार गरिएकामध्ये सामान्य घाइते भएका केही विदेशी नागरिकले उपचारपछि आफ्नो गन्तव्यतर्फ फर्किसकेका छन्। केही भने मानसिक आघात (ट्रमा) मा रहेकाले उपचार तथा निगरानीमा रहेका छन्।

सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा बेपत्ताको खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *