काठमाडौं १० भद्र २०८३ // रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट ५० भन्दा बढी नागरिकको मृत्यु भएको प्रति स्तव्ध हुदै सामाजिक सञ्जालमार्फत देशवासीलाई प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गरेका छन र बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले प्रभावित नागरिकको उद्धार, उपचार र सुरक्षालाई सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
उनका अनुसार बाढीपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, राष्ट्रिय परिषद् तथा मन्त्रिपरिषद्को बैठक बसेर उद्धार, खोजी तथा राहतलाई तीव्र बनाउने निर्णय गरिएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन गरिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र उद्धार गरिएका घाइतेलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

घाइतेहरूको निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको उनले बताए। उपत्यकाका अन्य ठूला अस्पताललाई समेत आकस्मिक उपचारका लागि तयारी अवस्थामा राखिएको छ। प्रभावित क्षेत्रमा मेडिकल टोली, चिकित्सक, उद्धारकर्मी तथा स्वास्थ्य सामग्री पठाइएको जनाइएको छ। प्रधानमन्त्रीका अनुसार रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटलगायत संस्थासँग स्वास्थ्य सेवा, औषधि र रगतको व्यवस्थाका लागि समन्वय भइरहेको छ।बाढीबाट नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बढी प्रभावित भएको प्रधानमन्त्री शाहले बताएका छन्।

प्रभावित परिवारसम्म तत्काल खानेकुरा, सफा खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था पुर्याइने उनले बताए। बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनाको प्राथमिकताका साथ पुनर्निर्माण गर्ने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने सरकारको योजना रहेको उनले उल्लेख गरे।बेपत्ता नागरिकको खोजी कार्यलाई थप तीव्र बनाइने र बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
उद्धार कार्य रातभर जारी रहने उनको भनाइ छ।प्रधानमन्त्री शाहले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक एक्लो नभएको बताउँदै राज्यका सम्पूर्ण स्रोत–साधन परिचालन गरेर उद्धार, उपचार, खानपिन र बसोबासको जिम्मेवारी सरकारले लिने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारको राहत तथा उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट सहयोग गर्नसमेत अपिल गरेका छन्।





