काठमाडौं १५ जेष्ठ २०८३ । नेपालमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ । यही दिन २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र राष्ट्र घोषणा गरेको थियो । त्यस ऐतिहासिक निर्णयसँगै देशमा नयाँ राजनीतिक युगको सुरुवात भएको थियाे ।

गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा आज काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहने कार्यक्रम छ । उक्त अवसरमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालद्वारा मार्चपास्ट, सांस्कृतिक झाँकी तथा विभिन्न कला प्रदर्शन गरिनेछ । देशभरका सरकारी कार्यालय, स्थानीय तह तथा विभिन्न सङ्घसंस्थाहरूले पनि विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइरहेका छन् ।

नेपालमा गणतन्त्र स्थापनाको आन्दोलन लामो राजनीतिक संघर्ष, जनआन्दोलन र बलिदानीपूर्ण इतिहाससँग जोडिएको छ । २०५२ सालदेखि तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको सशस्त्र द्वन्द्व तथा २०६२/०६३ सालको दोस्रो जनआन्दोलनले राजतन्त्रको अन्त्यका लागि निर्णायक भूमिका खेलेका थिए ।

तत्कालीन सात राजनीतिक दल र माओवादीबीच भएको १२ बुँदे समझदारीपछि देशभर व्यापक जनआन्दोलन चर्किएको थियो । आन्दोलनका क्रममा लाखौँ नागरिक सडकमा उत्रिएका थिए भने धेरैले ज्यान गुमाएका थिए । जनदबाबपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता जनतालाई फिर्ता गर्न बाध्य भएका थिए ।

यसपछि पुनःस्थापित प्रतिनिधिसभाले राजाको अधिकार कटौती गर्दै संविधानसभा निर्वाचनको बाटो खोलेको थियो । २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनपछि २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई औपचारिक रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको हो ।

गणतन्त्र स्थापनापछि नेपालमा समावेशी शासन प्रणाली, सङ्घीय संरचना र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने प्रयास हुँदै आएका छन् । २०७२ सालमा नयाँ संविधान जारी भएसँगै सङ्घ, प्रदेश र स्थानीय तहको व्यवस्था कार्यान्वयनमा आएको छ ।

यद्यपि गणतन्त्रपछि पनि राजनीतिक अस्थिरता, आर्थिक चुनौती, भ्रष्टाचार नियन्त्रण, सुशासन र नागरिक अपेक्षा पूरा गर्ने विषय अझै चुनौतीका रूपमा रहेका छन् । त्यसका बाबजुद पनि गणतन्त्रलाई नेपाली जनताको बलिदान, अधिकार र लोकतान्त्रिक उपलब्धिको प्रतीकका रूपमा हेरिन्छ ।

देशभर आज विभिन्न कार्यक्रम, प्रभातफेरी, दीप प्रज्वलन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइँदै छ । सरकारी तथा गैरसरकारी निकायहरूले पनि दिवसको अवसरमा शुभकामना आदानप्रदान गरिरहेका छन् ।

नागरिक सर्वोच्चता स्थापित भएको सोही ऐतिहासिक दिनको सम्मानस्वरूप हरेक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ । ।

नेपालमा लोकतान्त्रिक व्यवस्था संस्थागत गर्दै समावेशी, संघीय तथा जनउत्तरदायी शासन प्रणाली सुदृढ बनाउन गणतन्त्र दिवसले महत्वपूर्ण प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *