काठमाडौं ३ बैशाख । बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग सामूहिक छलफल गर्न लागेका छन्।
प्रधानमन्त्री शाहले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार दिउँसो २ बजे बैठक बोलाएको उनको निजी सचिवालयले जनाएको छ।
बैठक मुख्यतया विकास निर्माणका कार्यलाई तीव्रता दिने तथा केन्द्र र प्रदेशबीचको समन्वयलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहने बताइएको छ। स्रोत–साधनको न्यायोचित बाँडफाँड सुनिश्चित गर्ने, साथै प्रदेश सरकारले लामो समयदेखि भोग्दै आएका प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयलाई बैठकको प्रमुख एजेन्डा बनाइएको छ।

यसैगरी, राष्ट्रिय प्राथमिकताका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीच कसरी सहकार्य गर्ने भन्नेबारे गहन छलफल हुने जनाइएको छ।

देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकासमा देखिएको सुस्तता, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रधानमन्त्रीको योजना रहेको छ।

प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेपछि प्रदेश सरकारका प्रमुखहरूसँग हुन लागेको यो पहिलो औपचारिक संवादलाई संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने र आम नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

