जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

विचार

कैलालीमा ६१ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस मनाइने

कैलाली ६ चैत्र — घोडाघोडी नगरपालिका वडा नं. १ सुखडस्थित हेलीप्याडमा ६१औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस मनाइने भएको छ। चैत्र ७ गते (मार्च २१) दिउँसो १२ बजे आयोजना हुने उक्त कार्यक्रम दलित जागरण अभियान को आयोजनामा सञ्चालन हुन लागेको हो।

“समानताका लागि साझा अभियान” भन्ने नाराका साथ आयोजना हुन लागेको कार्यक्रममा जातीय भेदभाव उन्मूलनमा सबैलाई जिम्मेवार बनाउने उद्देश्य लिइएको आयोजकले जनाएको छ। कार्यक्रमको सभाध्यक्षता लालबहादुर गौतमले गर्नेछन् भने प्रमुख अतिथिका रूपमा प्रदेशसभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री लक्ष्मी वि.क. को उपस्थिति रहनेछ। साथै कैलाली जिल्लाका विभिन्न क्षेत्रका अगुवा तथा सरोकारवालाहरूको विशेष सहभागिता रहने बताइएको छ।

हरेक वर्ष मार्च २१ मा विश्वभर मनाइने यस दिवसले जातीय तथा रंगभेदको अन्त्य गर्दै उत्पीडित वर्ग, समुदायको सम्मान, समान हक–अधिकार र सामाजिक न्यायको पक्षमा वकालत गर्दछ। संयुक्त राष्ट्र संघ ले सन् १९६५ मा जातीय भेदभाव उन्मूलनसम्बन्धी महासन्धि पारित गर्दै यस दिवस मनाउने घोषणा गरेको थियो, जुन सन् १९६६ देखि विश्वभर मनाउन थालिएको हो। नेपालले उक्त महासन्धि सन् १९७१ मा अनुमोदन गरेको थियो।

नेपालमा वि.सं. २०६२/६३ को जनआन्दोलनपछिको सरकारले वि.सं. २०६३ जेठ १६ गते देशलाई छुवाछुट तथा जातीय भेदभावमुक्त राष्ट्र घोषणा गरेपछि यस दिवसले थप महत्व पाएको छ। कार्यक्रममार्फत सामाजिक एकता, सद्भाव, समानता र न्याय स्थापना गर्न सामूहिक प्रतिबद्धता जनाइने अपेक्षा गरिएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *