घोडाघोडी ८ भाद्र २०८३। कैलाली जिल्ला घोडाघोडी नगरपालिका–८ मा सामुदायिक विद्यालय, सामुदायिक वन तथा सामाजिक संस्थाको नेतृत्व चयनमा जातीय पहिचानलाई प्राथमिकता दिने गरिएको भन्दै स्थानीय सरोकारवालाले प्रश्न उठाएका छन्।
विशेषगरी राष्ट्रिय मावि तारानगरको विद्यालय व्यवस्थापन समिति गठनलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनीहरूले योग्य र सक्षम व्यक्तिले जातीय पहिचानकै कारण अवसरबाट वञ्चित हुनुपरेको आरोप लगाएका छन्।
भाद्र ४ गते बुधवार बसेको बैठकले ब्याचलर तह अध्ययन गरेका भजनसिंह विश्वकर्मा नेतृत्वका लागि योग्य भए पनि जातीय कारणले उनको योग्यता ओझेलमा परेको स्थानीय सरोकारवालाहरूले टीप्पणी गरेका छन ।
स्थानीयका अनुसार अघिल्लो विद्यालय व्यवस्थापन समिति गठनमा कक्षा १२ उत्तीर्ण गरेकी एक महिला उम्मेदवारले शैक्षिक योग्यता पूरा गरे पनि अध्यक्ष बन्न नसकेको र कक्षा १० उत्तीर्णसमेत नगरेका महेश बडुवाल अध्यक्ष बनेको उदाहरण प्रस्तुत गरिएको छ। दुवै क्षेत्री समुदायका भएकाले शैक्षिक योग्यताभन्दा जातीय पहिचान प्रभावकारी भएको आरोप उनीहरूको छ।त्यस्तै, श्री बालज्योति आधारभूत विद्यालयमा दलित विद्यार्थीको संख्या उल्लेख्य भए पनि नेतृत्वमा गैरदलित समुदायको वर्चस्व रहेको आरोप छ।
श्री मोहनी आधारभूत विद्यालयमा भोजबहादुर शाहीले चार कार्यकाल नेतृत्व कब्जा गरेका छन भने, श्री जरही सामुदायिक वनमा दलित समुदायको नेतृत्व स्वीकार नगरिएको र एकलवादी जातको वर्चस्सो जमाइराखेको आरोप गरिएको छ।
स्थानीयहरूले राजनीतिक दल जुनसुकै भए पनि नेतृत्व चयनमा जात, थरभन्दा योग्यता, क्षमता, अनुभव र योगदानलाई आधार बनाउनुपर्ने बताएका छन्।
उनीहरूले सामाजिक संस्थामा समान प्रतिनिधित्व र अवसर सुनिश्चित गर्दै जातीय विभेद अन्त्य गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।
तपाइलाइ यो समाचार पढेर कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला।





