धनगढी । कैलालीमा श्रीमानकाे हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीसहित पाँच जनालाई पक्राउ गरेको छ। लम्कीचुहा नगरपालिका–४ का ३३ वर्षीय दीपक सुनारको हत्या आरोपमा प्रहरीले उनकी श्रीमती यमुना सुनारसहित पाँच जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार दीपक गत साउन २२ गते बिहानदेखि जानकी गाउँपालिका–९ अमरावतीस्थित ससुरालीबाट हराएका थिए। उनी हराएको भन्दै उनकी श्रीमती यमुनाले इलाका प्रहरी कार्यालय लम्कीमा खोजतलासका लागि जानकारी गराएकी थिइन्।
घटनाबारे अनुसन्धान तथा खोजतलास गर्ने क्रममा यमुनाले प्रेमीसँगको मिलेमतोमा श्रीमान्को हत्या गर्ने योजना बनाएको तथ्य खुलेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार दीपकको अमरावती जंगलमा हत्या गरी शव मोटरसाइकलमा राखेर कर्णाली नदीमा लगेर फालिएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा लम्कीचुहा नगरपालिका–१० का ४१ वर्षीय दुर्योधन सुवर्णकार, लम्कीचुहा–४ की ३२ वर्षीया यमुना सुनार, टीकापुर नगरपालिका–३ का ३२ वर्षीय राम राजेश महतो, कञ्चनपुरको बेलौरी नगरपालिका–९ का ५६ वर्षीय वीरेन्द्र राना र बेलौरी–८ की ३२ वर्षीया भीमा रानालाई पक्राउ गरेको जनाएको छ।

उनीहरूलाई कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जनहित खबरः प्रकाशित २०८३/ भाद्र १०





