जनहित खबर

Janahit khabar

शिक्षा समाचार

रसुवा बाढीपीडितका लागि नाईल इङ्लिस बोर्डिङ स्कुल टीकापुरद्वारा आर्थिक सहयोग

टीकापुर १२ भाद्र २०८३ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि टीकापुरस्थित नाईल इङ्लिस बोर्डिङ स्कुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ।

प्राकृतिक विपत्तिका कारण सिंगो देश शोक र पीडामा रहेका बेला पीडित नागरिकको साथमा उभिने उद्देश्यले विद्यालय परिवारले रु. ७ हजार ५ सय प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको विद्यालयले जनाएको छ।

त्यसैगरी विद्यालयका संस्थापक तथा प्रधानाध्यापक डम्मरबहादुर सोडारीले व्यक्तिगत रूपमा रु. २ हजार सहयोग गरेका छन्। विपत्तिको समयमा आफ्नो सानो सहयोगले पनि पीडित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा योगदान पुग्ने विश्वाससहित सहयोग गरिएको सोडारीले बताएका छन्।

सुखका घरमा जानुभन्दा दुःखको घरमा जानु उत्तम कुरा हो’ भन्ने भावनाका साथ विपत्तिमा परेका नागरिकलाई सहयोग गरिएको विद्यालयले जनाएको छ।

यसैबीच, विद्यालयले प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित विद्यालयको प्रार्थना सभामा एक मिनेट मौनधारण गरी श्रद्धाञ्जलीसमेत अर्पण गरिएको विद्यालयले जनाएको छ।

विद्यालय परिवारले बाढी तथा प्राकृतिक विपत्तिमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकहरूको खोज तथा उद्धार कार्यलाई थप तीव्र र प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।

प्राकृतिक विपत्तिको यस विषम परिस्थितिमा पार्टी, विचार तथा संघ–संगठनभन्दा माथि उठेर राष्ट्र र नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने विद्यालयको भनाइ छ। संकटको समयमा सबै एकजुट भई पीडित नागरिकको साथमा उभिन, उद्धार तथा राहत कार्यमा सहयोग गर्न र देशको पुनर्निर्माणमा हातेमालो गर्न विद्यालयले सबैमा अपिल गरेको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *