घोडाघोडी ३१ साउन २०८३ । घोडाघोडी नगरपालिका–८ आमफाटामा अस्थायी प्रहरी पोस्ट सञ्चालन गर्ने विषयमा छलफल तथा कानुनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। साउन ३१ गते आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी अधिकारी, बुद्धिजीवी तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको अध्यक्षता घोडाघोडी नगरपालिका–८ का वडाध्यक्ष वीरबहादुर साउदले गरेका थिए। वडा सदस्य अप्सरादेवी विश्वकर्मासहित स्थानीय बुद्धिजीवी तथा नागरिकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा जनहित खबरका पत्रकार रोशन रसाइलीले विगतमा अस्थायी प्रहरी पोस्ट सञ्चालनका लागि बजेट विनियोजन भए पनि कार्यान्वयनमा आउन नसकेको विषयमा जनताको प्रश्न उठाएका थिए। बजेट कार्यान्वयन हुन नसक्नु तथा अस्थायी प्रहरी पोस्ट सञ्चालनका लागि आवश्यक आधिकारिक प्रक्रिया अघि नबढ्नुको कारणबारे सम्बन्धित जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय सुखड तथा जिल्ला प्रहरी कार्यालय धनगढीसँग आवश्यक जानकारी लिई तत्काल प्रक्रिया अघि बढाउनुपर्नेमा उनले जोड दिएका थिए। कार्यक्रमको सञ्चालनसमेत पत्रकार रसाइलीले गरेका थिए।
घोडाघोडी नगरपालिका–८ आमफाटामा विगतमा बर्थिङ सेन्टर (प्रसूति गृह) सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको भवन हाल प्रयोगविहीन अवस्थामा रहेको छ। सोही भवनलाई अस्थायी प्रहरी पोस्टका रूपमा प्रयोग गर्ने गरी विगतमा बजेटसमेत विनियोजन गरिएको भए पनि बजेट कार्यान्वयन हुन नसकेको र प्रहरी पोस्ट सञ्चालनका लागि आधिकारिक आदेशसमेत नआएपछि अन्योल सिर्जना भएको स्थानीयको भनाइ छ।
वडाध्यक्ष वीरबहादुर साउदले अस्थायी प्रहरी पोस्ट सञ्चालनका लागि विगतमा बजेट छुट्याउनुका साथै आवश्यक व्यवस्थापन सामग्रीसमेत जुटाइएको बताए। तर प्रहरी जनशक्ति नआएपछि विनियोजित बजेट कार्यान्वयन हुन नसकी फ्रिज जाने अवस्था सिर्जना भएको उनको भनाइ थियो।
स्थानीय बुद्धिजीवी तथा भैरव आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर विष्टले वडा नम्बर ८ मा अस्थायी प्रहरी पोस्ट अत्यन्त आवश्यक रहेको बताए। चोरी, तस्करी, गाँजा–चरेसको कारोबार तथा सेवन, झैझगडा र आगलागीजस्ता घटना नियन्त्रणका लागि प्रहरीको स्थायी उपस्थितिको आवश्यकता रहेको उनले बताए।
त्यस्तै स्थानीय बुद्धिजीवी रतनभुलले गाउँमा गुण्डागर्दी तथा दादागिरी बढ्दै गएको र चोरी तथा आगलागीजस्ता घटना हुने गरेको बताए। यस्ता गतिविधि नियन्त्रणका लागि अस्थायी प्रहरी पोस्ट स्थापना गर्न जनप्रतिनिधि तथा सम्बन्धित सबै सरोकारवालाले तत्काल पहल गर्नुपर्नेमा उनले जोड दिए।
स्थानीय महिलाहरूको तर्फबाट बुद्धिजीवी पार्वती धामीले महिलामाथि हुने विभिन्न प्रकारका अपराध तथा हिंसा नियन्त्रण गर्न पनि प्रहरी पोस्ट आवश्यक रहेको बताइन्। गाँजा–चरेस सेवन तथा अन्य आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रण गरी समाजमा अपराध न्यूनीकरण गर्न प्रहरीको स्थानीयस्तरमै उपस्थिति आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय सुखडका डीएसपी प्रसन्नराज चौधरीले विगतमा अघि बढाइएको प्रक्रियालाई पुनः प्रक्रियागत ढङ्गबाट अघि बढाउने प्रतिबद्धता जनाए। आमफाटामा अस्थायी प्रहरी पोस्ट आवश्यक रहेको आफूहरूले समेत महसुस गरेको भन्दै उनले त्यसका लागि आवश्यक व्यवस्थापन तथा बजेट विनियोजनमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए।
डीएसपी चौधरीले समाजमा हुने आपराधिक गतिविधि न्यूनीकरण गर्दै नागरिकको सुरक्षाका लागि प्रहरी दिनरात खटिन प्रतिबद्ध रहेको बताए। नागरिकको सुरक्षा प्रहरीको प्रमुख दायित्व भएको उल्लेख गर्दै उनले स्थानीय नागरिकलाई समेत अपराध तथा शंकास्पद गतिविधिबारे प्रहरीलाई समयमै सही सूचना उपलब्ध गराउन आग्रह गरे।
“कोही पनि अपराधी नछुटुन् र निर्दोष नपरुन्” भन्ने मूल मर्मका आधारमा प्रहरीले घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने जिम्मेवारी रहेको उनले बताए। सभ्य, सुरक्षित र स्वच्छ समाज निर्माण गर्न प्रत्येक नागरिकले आफ्नो तहबाटै सकारात्मक सुरुवात गर्नुपर्नेमा समेत उनले जोड दिए।
कार्यक्रम घोडाघोडी नगरपालिका–८ की वडा सदस्य अप्सरादेवी सुनार र जनहित खबरका पत्रकार रोशन रसाइलीको पहलमा आयोजना गरिएको जनाइएको छ। कार्यक्रममा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।





