जनहित खबर

Janahit khabar

शिक्षा समाचार

राष्ट्रिय मावि तारानगरको विव्यसमा चार अभिभावक छनोट, अध्यक्ष चयनमा सहमतिको प्रयास

घोडाघोडी २९ साउन २०८३ // कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ तारानगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन प्रक्रियामा अभिभावक भेलाबाट तीन महिला र एक पुरुष गरी चार जना सदस्य छनोट भएका छन्।अभिभावक भेलाबाट भविसरा मल्ल विष्ट, भजनबहादुर विक, गोमा साउद र हिमा महत गरी चार जना उम्मेदवार छनोट भएको जनाइएको छ।

छनोट भएकामध्ये तीन जना महिला कक्षा १२ उत्तीर्ण र एक जना पुरुष स्नातक तह उत्तीर्ण रहेको बताइएको छ।चार जना सदस्यमध्येबाटै विव्यस अध्यक्ष चयन गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले अध्यक्ष पदका लागि तत्काल सहमति जुट्न नसकेपछि अर्को बैठकमार्फत छलफल गरी अध्यक्षको टुङ्गो लगाउने तयारी गरिएको जनाइएको छ।

अध्यक्ष चयन गर्दा सदस्यहरूको शैक्षिक योग्यता तथा नियमावलीमा तोकिएका अन्य मापदण्डलाई समेत आधार बनाइने बताइएको छ।विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी संशोधित शिक्षा नियमावली, २०८३ ले राजनीतिक दलको सदस्यता तथा अभिभावकसम्बन्धी योग्यता लगायतका विषयमा थप स्पष्ट व्यवस्था गरेको भन्दै सोहीअनुसार उम्मेदवार छनोट गरिएको विद्यालय पक्षको भनाइ छ।

नियमावलीमा तोकिएको योग्यता पूरा गरेका व्यक्तिलाई मात्र विव्यसमा प्रतिनिधित्व गराउने उद्देश्यले प्रक्रिया अघि बढाइएको जनाइएको छ।विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा विगतमा विभिन्न राजनीतिक दलसँग आबद्ध व्यक्तिहरू रहने गरेको भए पनि पछिल्लो कानुनी व्यवस्थापछि विद्यालयमा राजनीतिक प्रभाव कम गर्दै अभिभावकबाट योग्य व्यक्ति नेतृत्वमा ल्याउने वातावरण बनाउन खोजिएको बताइएको छ।

अब छनोट भएका चार सदस्यबीच सहमति कायम गरी अध्यक्ष चयन गर्ने तयारी छ। विद्यालय व्यवस्थापन समितिको नेतृत्व चयनपछि विद्यालयको शैक्षिक गुणस्तर, व्यवस्थापन तथा अभिभावकको सहभागितालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *