धनगढी, ५ फाल्गुन — कैलालीको गोदावरी नगरपालिका–४ अमलेशैनीमा श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या प्रयास गरेका रामबहादुर मगरको होस खुलेको छ।

बुधबार जंगलमा बाख्रा चराउन गएका बेला मगरले भरुवा बन्दुक प्रयोग गरी २७ वर्षीया श्रीमती सञ्जिता मगरमाथि गोली प्रहार गरेका थिए। त्यसलगत्तै उनले आफूमाथि पनि गोली चलाएर आत्महत्या प्रयास गरेका थिए। घाइते मगरको हाल सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।अस्पताल स्रोतका अनुसार बिहीबार दिउँसो होस खुलेपछि मगरले श्रीमतीलाई आफैँले गोली हानेको स्वीकार गरेका छन्।

उनले दुवै जना सँगै मर्ने योजना बनाएर जंगल गएको बताएका छन्। मगरका अनुसार श्रीमतीलाई गोली हानेपछि उनले आफ्नै निधारमा बन्दुक राखेर गोली चलाएका थिए। तर सन्तुलन बिग्रिँदा गोली टाउकोको बाहिरी भागमा लागेको उनले बताएका छन्।

करिब १५ वर्षअघि प्रेम विवाह गरेका उनीहरूका दुई छोरी (५ र १२ वर्ष) र एक छोरा (७ वर्ष) रहेका छन्। मगरले श्रीमतीसँगै मर्ने सहमति भएको दाबी गरेका छन्। उनका अनुसार आफू जन्डिस र अल्सरका बिरामी रहेको तथा केही दिनअघि श्रीमतीका बुवाको मृत्यु भएपछि श्रीमती मानसिक तनावमा रहेको बताएका छन्। ‘माइतीमा बुवाको मृत्यु भयो, मेरो स्वास्थ्य पनि बिग्रिँदै गइरहेको थियो,’ उनले भने, ‘यी कारणले उनी तनावमा थिइन्। अब तिमी पनि मर्छौ, म एक्लै हुन्छु भन्ने भएपछि सँगै मरौँ भन्ने निर्णय भयो।’मगरले श्रीमतीलाई सम्झाउँदा नमानेको दाबी गर्दै ‘बुढीले म रुखमा चढेपछि गोली हान्नु भनेपछि छातीमा गोली हानेँ,’ भनेका छन्।

घटनापछि आफूलाई पछुतो लागेको उनले बताएका छन्। साथै, सन्तानको हेरचाह गर्ने कोही नभएको चिन्ता पनि व्यक्त गरेका छन्।प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको छ। मृतकको शव परीक्षणका लागि अस्पताल ल्याइएको छ भने मगर उपचारमै रहेका कारण विस्तृत सोधपुछ हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

(आरोपीसँगको प्रारम्भिक कुराकानीका आधारमा तयार पारिएको यो समाचारमा उनले व्यक्त गरेका सबै दाबीहरू स्वतः सत्य ठहरिने छैनन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *