कैलाली, ११ फाल्गुन – कैलाली जिल्लाका सम्पूर्ण सिमा नाका फाल्गुन १८ गतेदेखि २१ गते राति १२ बजेसम्म बन्द गरिने भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय कैलालीले उक्त निर्णय गरेको हो।

जिल्ला प्रशासनका अनुसार फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै मिति २०८२ फाल्गुन १८ गते सोमबारदेखि फाल्गुन २१ गते बिहीबार राति १२ बजेसम्म सबै सिमा नाका पूर्ण रूपमा बन्द रहनेछन्।

त्यसैगरी, मतदानको अघिल्लो दिन अर्थात् फाल्गुन २० गते बुधबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुँदासम्म जिल्लाभर सवारी साधन सञ्चालनमा समेत कडाइ गरिने प्रशासनले जनाएको छ।

यस अवधिमा एम्बुलेन्स, दमकल, निर्वाचनमा खटिने सवारी साधन, शव वाहन, दूरसञ्चार सेवा सम्बन्धी गाडी तथा प्रशासनबाट पास लिएका सवारी साधनबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइनेछ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्न तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न सर्वसाधारणलाई प्रशासनको निर्णय कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरेको छ।

प्रशासनले तोकिएको समय अवधिमा सिमा नाका बन्द तथा सवारी आवागमन नियन्त्रणसम्बन्धी व्यवस्था उल्लंघन गरे कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *