काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरू चुनावी घोषणापत्रसहित मैदानमा उत्रिएका छन्। सुदूरपश्चिमको महत्त्वपूर्ण क्षेत्र मानिने कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा यसपटकको प्रतिस्पर्धा विशेष रूपमा रोचक हुने देखिएको छ। ११ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा उत्रिँदा मतदाताको चासो बढेको छ।

विगतको मतपरिणामले बनायो उत्सुकता

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलालीका पाँचमध्ये तीन निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले जित हात पारेको थियो। कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित पराजित भए। दुवैबीचको मतान्तर ५ हजार ३७१ थियो।

त्यसै निर्वाचनमा एमालेका गौरीशंकर चौधरी ९ हजार ८७४ मतसहित तेस्रो स्थानमा सीमित भएका थिए।

यसअघि २०७४ सालको निर्वाचनमा भने एमालेका गौरीशंकर चौधरी २४ हजार ८६२ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरी ले २० हजार ३५५ मत प्राप्त गरेका थिए।

यी दुई फरक नतिजाले कैलाली–३ मा मतदाताको धार परिवर्तनशील रहेको देखाउँछ।

मुख्य प्रतिस्पर्धी को–को?

यसपटक एमालेबाट पूर्वमन्त्रीसमेत भइसकेका गौरीशंकर चौधरी पुनः चुनावी मैदानमा छन्। विगतको हारलाई उल्ट्याउँदै पुनरागमन गर्ने लक्ष्यसहित उनी सक्रिय छन्।

नेपाली कांग्रेसले जिल्ला उपसभापति तथा युवा नेता भीम बडुवाल लाई उम्मेदवार बनाएको छ। विद्यार्थी राजनीतिबाट उदाएका बडुवालले घोडाघोडी लगायतका क्षेत्रमा विद्युतीकरणमा योगदान दिएको दाबी गर्दै विकासका एजेन्डा अघि सारेका छन्। कांग्रेसले यसपटक नयाँ अनुहारमार्फत मतदाताको विश्वास जित्ने रणनीति अपनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बीरेन्द्र बहादुर बम प्रतिस्पर्धामा छन्। २०७९ मा ७ हजार ४४ मत ल्याएका बम यसपटक मतवृद्धि गर्दै परिणाम आफ्नो पक्षमा पार्ने तयारीमा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जगत प्रसाद जोशी उम्मेदवार बनेका छन्। देशभर बढ्दो प्रभावलाई आधार बनाउँदै रास्वपाले कैलाली–३ मा पनि युवा मत आकर्षित गर्ने लक्ष्य राखेको छ।

नेपाली कम्युनिष्ट पार्टीबाट पूर्व प्रदेश सभा सदस्य विरमान चौधरी उम्मेदवार बनेका छन्। विभिन्न राजनीतिक समायोजनपछि आफ्नो पक्ष बलियो भएको दाबी उनको छ। यस क्षेत्रबाट माओवादी केन्द्रका अर्जुन प्रसाद कठरिया, नेपाल मजदुर किसान पार्टीकी जुनु महतारा शाही, प्रगतिशील लोकतान्त्रिक पार्टीका लक्षी राम चौधरी, राष्ट्रिय जनमोर्चाका देशराज चौधरी, मितेरी पार्टी नेपालकी शुसिला थापा (मगर) तथा नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिन्ह)का विक्रम चौधरी पनि प्रतिस्पर्धामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *