
काठमाडौ माघ ६ ।। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो।
आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ। कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ।
यस्तो छ आयोगको कार्यतालिका
निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ।
मनोनयन दर्तापछि आजै साँझ ५ देखि ७ बजेभित्र उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ।
उम्मेदवारहरूले सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुपर्नेछ। उम्मेदवारको दाबी विरोधमा उजुरी दिन भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ। उजुरीमा जाँचबुझ र निर्णय बुधबार दिउँसो ३ देखि ५ बजेसम्मको समय तोकिएको छ। त्यसपछि आयोगले बिहीबार साँझ ५ देखि ७ बजेभित्र पुनः उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।
शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेभित्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेभित्र आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। दिउँसो ४ बजेदेखि साँझ ७ बजेभित्र आयोगले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्नेछ। फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।
