काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले राज्य र समाजले ओझेलमा पारेका दलित समुदायका मुद्दाहरूलाई संसदमा सशक्त रूपमा उठाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै बाँके क्षेत्र नं. ३ बाट निर्वाचित सांसद सुनारले जातकै आधारमा देशभर भएका हत्या र हिंसाका घटनाहरूको फेहरिस्त प्रस्तुत गर्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद सुनारले विगत १२ वर्षमा घटेका बीभत्स घटनाहरू स्मरण गराउँदै भने, रुकुम हत्याकाण्डः २०७७ जेठ १० गते अन्तरजातीय प्रेम सम्बन्धका कारण नवराज विकसहित ६ जना युवाको सामूहिक हत्या भएको घटना विश्व समुदायकै लागि कलंक भएको उनले बताए।
काभ्रेका अजित मिजारको शव ८ वर्षदेखि अझै शिक्षण अस्पतालको मुर्दाघरमा न्यायको पर्खाइमा थन्किएर बसेको विषय उनले गम्भीरताका साथ उठाए। “उता दलित लाश बनेर बसेको छ, यता जिउँदो दलित दास बनेर बाँच्नुपरेको छ,“ उनले आक्रोश पोखे। उनले कालिकोटकी मना सार्की (धारा छोएको निहुँमा), मनबिरे सुनार (चुलो छोएको निहुँमा), बझाङकी १२ वर्षीया सम्झना कामी (मन्दिरमा बलात्कार र हत्या), अंगिरा पासी र शम्भु सदा (प्रहरी हिरासतमा मृत्यु) लगायतका घटनाहरू उनले संसद्मा प्रस्तुत गरे।

सांसद सुनारले आफू विगतमा नवराज विकहरूका लागि न्याय माग्दै ४५ दिनसम्म हातमा नेल लगाएर माइतीघर मण्डलामा आन्दोलनमा बसेको स्मरण गरे। सो समयमा रास्वपा सभापति रवि लामिछानेले सदनमा उभिएर “कहिलेसम्म खगेन्द्र सुनारहरूले नेल लगाएर बस्नुपर्ने हो?“ भनी प्रश्न उठाएर यो मुद्दालाई सदनमा प्रवेश गराएकोमा उनले धन्यवाद समेत दिए।

लामो समयदेखि दलित समुदायमाथि भएका बलात्कार, हत्या र जातीय हिंसाका घटनामा सरकारले प्रभावकारी कदम नचालेकोमा उनले आपत्ति जनाए। “१२ वर्षमा खोला पनि फर्किन्छ भनिन्छ, तर दलितले न्याय पाउने दिन कहिले आउँछ?“ उनले प्रश्न गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *