काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिँदै तत्कालका लागि दलीय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्। उनले आज एक वक्तव्य जारी गर्दै ’विचारभन्दा माथि देश’ र ’राजसंस्था पुनःस्थापना’का लागि आफू स्वतन्त्र रूपमा सक्रिय रहने जानकारी दिएका हुन ।

मिश्रले राजसंस्था पुनःस्थापनाको पक्षमा रहेको जनमतलाई सङ्गठित गर्न राप्रपा बारम्बार विफल भएको र त्यसको जिम्मेवारी वरिष्ठ उपाध्यक्षको हैसियतले आफूले पनि लिने बताएक छन् । “देशभरि राजसंस्थाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि त्यसलाई पुँजीकृत गर्न पार्टी असफल रह्यो,“ उनले उल्लेख गरेका छन् ।

आफ्नो निर्णय कुनै निराशा वा हतारमा नभई धेरै सोच–विचार गरेर लिएको स्पष्ट बताएका छन् । उनले आजकै मितिदेखि लागू हुने गरी पार्टीका सबै जिम्मेवारीबाट राजीनामा र राजसंस्था पुनःस्थापना र सुशासनका मुद्दामा अडान कायम राख्दै तत्कालका लागि गैरदलीय (स्वतन्त्र) रूपमा विचार मुखरित गर्ने बताएका छन् ।

साथै, मिश्रले हालैको निर्वाचनमा सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई तथा शुभकामना समेत दिएका छन् । उनले नेपाली राजनीति ’तातो तावाबाट भुङ्ग्रोमा’ नजाओस् भन्दै चिन्ता समेत व्यक्त गरेका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *