जोशीपुरमा प्रतिनिधि सभा उम्मेदवारसँग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न
कैलाली जाेशिपुर, ५ फागुन — प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत कैलाली जिल्ला क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवारहरूसँग अन्तरक्रिया तथा प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न भएको छ। जोशीपुर जेसीज वर्ष २०२६ को आयोजनामा जोशीपुर गाउँपालिका वडा नं. १ मा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको सभाध्यक्षता जोशीपुर जेसीज वर्ष २०२६ का अध्यक्ष जीवनलाल डगौरा ले गर्नुभएको थियो। कार्यक्रममा कैलाली क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूबीच स्थानीय मतदातासँग खुला संवाद गरिएको थियो।
संवाद कार्यक्रममा राम बहादुर विश्वकर्मा (नेपाल कम्युनिष्ट पार्टी माओवादी), रामलाल डगौरा (नेपाली कम्युनिष्ट पार्टी), प्रदिप कुमार चौधरी (उज्यालो नेपाल पार्टी), जनकराज चौधरी (नेपाली कांग्रेस) र लोकेन्द्र कुँवर (राष्ट्रिय प्रजातन्त्र पार्टी) लगायतका उम्मेदवारहरूको सहभागिता रहेको थियो।

लोकतन्त्रको मूल्य–मान्यतालाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा अपेक्षित संख्यामा आम मतदाताको उपस्थिति भने देखिएन। यद्यपि, स्थानीय युवाहरूले सक्रिय सहभागिता जनाउँदै प्रत्येक उम्मेदवारलाई पाँच वटा प्रश्न सोधेका थिए। ती प्रश्नहरू मुख्यतः नीति निर्माण, स्थानीय विकास, रोजगारी, पूर्वाधार विस्तार तथा सुशासनसँग सम्बन्धित रहेका थिए।
कार्यक्रमको प्रमुख उद्देश्य मतदाताहरूले आफ्ना सम्भावित जनप्रतिनिधिहरूलाई नजिकबाट चिन्ने, उनीहरूको धारणा बुझ्ने र प्रत्यक्ष संवादमार्फत लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने रहेको आयोजकले बताएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाताले आफ्नो अमूल्य मत प्रयोग गरी योग्य प्रतिनिधि चयन गरी सरकार तथा नीति निर्माण प्रक्रियामा पठाउने संवैधानिक अधिकार रहेको छ। यसै सन्दर्भमा यस्ता संवाद कार्यक्रमहरूले मतदातालाई सचेत र जिम्मेवार निर्णय लिन सहयोग पुग्ने विश्वास गरिएको छ।

