धनगढी कैलाली ४ फाल्गुन । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगामी फागुन ५ गते देशभर नेपाल बन्द गर्ने घोषणा गरेको छ।

पार्टीको केन्द्रीय समितिले आइतबार विज्ञप्ति जारी गर्दै साम्राज्यवादी डिजाइनअन्तर्गत अघि सारिएको भनिएको निर्वाचन खारेज गर्न, वैदेशिक हस्तक्षेप र दमनविरुद्ध संघर्ष गर्न तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने उद्देश्यले बन्द आह्वान गरिएको जनाएको छ।

पार्टीका महासचिव धर्मेन्द्र वास्तोला (कञ्चन) द्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वाधीन संयुक्त सरकार गठनको मागसमेत राखिएको छ। साथै बन्द कार्यक्रमलाई सफल बनाउन उद्योगी, यातायात व्यवसायी, व्यापारी, शिक्षण संस्था, बुद्धिजीवी तथा सञ्चार क्षेत्रलगायत सम्पूर्ण पक्षसँग सहयोग र समर्थनको अपिल गरिएको छ।

पार्टीले फागुन ५ गते देशभर बन्द कार्यक्रम आयोजना गरिने स्पष्ट पार्दै उक्त दिन व्यापक जनसहभागिताका साथ कार्यक्रमलाई ऐतिहासिक बनाउने उल्लेख गरेको छ। जारी सूचनाअनुसार बन्दका क्रममा कार्यक्रम शान्तिपूर्ण रूपमा सञ्चालन गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *