काठमाडौं १५ माघ २०८२।
- प्रतिनिधिसभा निर्वाचनमा सवारी साधन प्रयोगमा आयोगको कडाइ
- निर्वाचनमा सवारी प्रयोग गर्दा आचारसंहिता अनिवार्य
- निर्वाचन प्रचारमा सवारी साधन प्रयोग गर्दा अनुमति अनिवार्य
- अनुमति बिना सवारी प्रयोग गरे नियन्त्रणमा लिइने, फागुन २१ मा मतदान

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सवारी साधन प्रयोग गर्दा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न राजनीतिक दल, उमेदवार तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। आचारसंहिता उल्लंघन गरेमा सम्बन्धित उमेदवारलाई कानुनबमोजिम कारबाही गरिने आयोगले स्पष्ट पारेको छ।

आयोगका अनुसार राजनीतिक दल, उमेदवार, दलका भ्रातृ संगठन वा व्यक्तिले सवारी साधन प्रयोग गर्न निर्वाचन अधिकृतको अनुमति लिनुपर्नेछ। अनुमति प्राप्त गरी उमेदवार रहेको निर्वाचन क्षेत्र वा उमेदवारको कार्यक्षेत्रभित्र आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपांग्रे, तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन प्रयोग गर्न सकिनेछ।

सवारी साधन नचल्ने स्थानमा भने बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। तर विदेशी नम्बर प्लेट भएका सवारी साधन प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको आयोगले जनाएको छ।
अनुमति प्राप्त सवारी साधनको स्वरूप परिवर्तन गरी प्रयोग गर्न वा गराउन नपाइने तथा एउटा दल वा उमेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य दल वा उमेदवारले प्रयोग गर्न नपाउने आयोगको स्पष्ट निर्देश छ।
त्यस्तै, अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्न पाइने छैन। तर, हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा साना बच्चा बोकेकी महिला, क्रियापुत्री, शारीरिक रूपमा अशक्त वा अपांगता भएका व्यक्ति तथा हिँडडुल गर्न असमर्थ ज्येष्ठ नागरिकका लागि भने निर्वाचन अधिकृतको अनुमति लिएर सवारी साधन प्रयोग गर्न सकिने आयोगले जनाएको छ।

अनुमति लिँदा तोकिएको स्थान बाहेक अन्य स्थानमा सवारी साधन प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ। अनुमति नलिएको सवारी साधन प्रयोग गरी प्रचारप्रसार गरेमा वा त्यस्ता सवारी साधनमा निर्वाचन प्रचार सामग्री प्रदर्शन गरेमा सम्बन्धित स्थानको ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले सवारी साधन नियन्त्रणमा लिन सक्ने आयोगले जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन आगामी फागुन २१ गते सम्पन्न हुने छ।
![]()
प्रतिक्रया दिनुहाेला

