
घोडाघोडी, १४ माघ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा बोर्डो मिश्रण तथा बोर्डो पेस्ट प्रयोग विधिसम्बन्धी दुईदिने व्यवसायिक कृषक नगरस्तरीय तालिम सम्पन्न भएको छ।
घोडाघोडी नगरपालिकाका नगरप्रमुख खड्गबहादुर रावतको सभाध्यक्षतामा सम्पन्न उक्त तालिम नगरपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन गरिएको हो। उक्त तालिम कृषि शाखा अधिकृत जनक धामीको नेतृत्वमा प्रशिक्षण गरिएको थियो भने कृषि अधिकृत लोकेन्द्र बिष्टसहित कृषि शाखाका कर्मचारीहरू तथा नगरपालिकाका विभिन्न वडाका कृषकहरूको सक्रिय सहभागिता रहेको थियो।

तालिमको पहिलो दिन घोडाघोडी नगरपालिकाका फलफूल बगैँचा व्यवसायिक किसानहरूको उपस्थितिमा बोर्डो मिश्रण बनाउने विधिबारे भौतिक अभ्यास गराइएको थियो भने दोस्रो दिन बोर्डो पेस्ट प्रयोग विधिसम्बन्धी प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको थियो। उक्त प्रयाेगात्मक तालिमले फलफुल बगैचामा लाग्ने रोग तथा कीरा व्यवस्थापनमा प्रत्यक्ष ज्ञान र सीप प्राप्त भएको भन्दै सहभागी कृषकहरूले तालिम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।

तालिममा सहभागी कृषकहरूले नगरपालिकाले पहिलो पटक नयाँ र व्यवहारिक विधि अपनाएर तालिम सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै यसले फलफूल बगैँचा व्यवसायलाई अझ सहज, प्रभावकारी र दिगो बनाउने विश्वास व्यक्त गरेका छन्।

उक्त तालिममा प्रशिक्षक तथा प्रशिक्षार्थी गरी जम्मा २५ जनाको सहभागिता रहेको थियो। तालिम घोडाघोडी नगरपालिका वडा नं. १ स्थित बेलरमा रहेको लक्ष्मी चौधरीको फलफूल बगैँचामा आयोजना गरिएको थियो।

समापन कार्यक्रममा प्रत्येक सहभागी किसानलाई कृषि औजार सामग्री नगरप्रमुख खड्गबहादुर रावत तथा कृषि शाखा अधिकृत जनक धामीको हातबाट हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख रावतले दुईदिने तालिम नयाँ, प्रभावकारी तथा कृषकको हितमा केन्द्रित रहेको उल्लेख गर्दै यस्ता व्यवहारिक र प्रविधिमैत्री तालिमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कृषि शाखा अधिकृत जनक धामीका अनुसार नगरपालिकाले कृषकको उत्पादन क्षमता अभिवृद्धि र रोग–कीरा व्यवस्थापनलाई सुदृढ बनाउन यस्ता तालिमहरूलाई प्राथमिकताका साथ निरन्तरता दिने जनाएको छ।

