घोडाघोडी ८ वैशाख २०८३ / परम्परागत खेती प्रणालीलाई चुनौती दिँदै घोडाघोडी नगरपालिका–१० रानिझिरौखाका किसान टेकराज भण्डारी कागती खेतीमा नयाँ सम्भावना खोजिरहेका छन्।
करिब तीन वर्षअघि उनले करिब १० कट्ठा जमिनमा २०० भन्दा बढी कागतीका बोट रोपेर व्यावसायिक बगैँचा स्थापना गरेका थिए।धान र गहुँ मात्र लगाउने परम्परागत सोचबाट बाहिर निस्कँदै फरक कृषि व्यवसाय रोजेका भण्डारीले कागती खेतीबाट मनग्य आम्दानी गर्ने लक्ष्य राखेका थिए।
तर, अपेक्षाअनुसार उत्पादन नहुँदा उनी केही निराश बनेका छन्। तीन वर्षसम्म बोटहरूले आंशिक उत्पादन दिए पनि त्यसले पर्याप्त आम्दानी दिन सकेको छैन।“सुरुमा निकै आशा थियो, तर अहिले जस्तो सोचेको जस्तो उत्पादन छैन। केही हदसम्म ठगिएको जस्तो पनि महसुस भयो,” भण्डारीले भने, “तर पनि हार मानेको छैन, अझै केही वर्ष मेहनत गर्छु भन्ने अठोट छ।
”उनका अनुसार २०० भन्दा बढी बोटको नियमित स्याहार, गोडमेल र संरक्षण निकै मेहनतिलो काम हो। मौसम, रोग–कीरा र बजार व्यवस्थापनजस्ता चुनौतीहरूले पनि उत्पादनमा प्रभाव पारेको उनले बताए।कागती स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण फलफूलका रूपमा लिइन्छ। अचार, सर्बत तथा जुसका रूपमा प्रयोग हुने कागतीले शरीरलाई ताजगी दिनुका साथै विभिन्न पोषक तत्व प्रदान गर्ने वैज्ञानिक अध्ययनहरूले देखाएका छन्।
विशेषगरी गर्मी मौसममा यसको माग उच्च रहने गर्छ।भण्डारीले विगतमा घरमै लगाएको एउटा कागतीको बोटबाट राम्रो उत्पादन पाएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्ने प्रेरणा पाएका थिए। सोही अनुभवका आधारमा उनले ठूलो परिमाणमा कागती खेती सुरु गरेका हुन्।हाल प्रारम्भिक चुनौतीहरूका बाबजुद पनि उनले आफ्नो प्रयासलाई निरन्तरता दिँदै भविष्यमा राम्रो आम्दानी गर्ने विश्वास व्यक्त गरेका छन्।
उनका जस्ता किसानहरूलाई आवश्यक प्राविधिक सहयोग, उचित बजार व्यवस्थापन र गुणस्तरीय बिरुवा उपलब्ध गराउन सके कागती खेती गाउँमै रोजगारी र आम्दानीको राम्रो माध्यम बन्न सक्ने देखिन्छ।
