काठमाडौँ ८ बैशाख — शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले शैक्षिक सत्र २०८३ का लागि देशभरका विद्यालयहरूमा सरकारद्वारा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न र विद्यालय परिसरभित्र पोसाक तथा स्टेशनरी बिक्री नगर्न निर्देशन दिएको छ।
केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गर्दै तत्काल अनुगमन गरी आवश्यक कारबाही अघि बढाउन आग्रह गरेको जनाएको छ।
जारी परिपत्रमा केही निजी प्रकाशकहरूले कानुन उल्लङ्घन गर्दै पाठ्यपुस्तकमा मनपरी मूल्य निर्धारण गरेको, न्यून गुणस्तरको कागज प्रयोग गरेको तथा पाठ्यक्रम विकास केन्द्र बाट स्वीकृति नलिई पुस्तक बिक्री गरेको गुनासो प्राप्त भएको उल्लेख गरिएको छ।
नेपाल सरकारको नीति तथा कानुन विपरीत यस्ता गतिविधिले बालबालिका र अभिभावकमाथि अतिरिक्त आर्थिक बोझ पर्ने भन्दै केन्द्रले कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो।
यसैगरी, केही विद्यालयहरूले आफ्नै परिसरभित्रबाट पोसाक, पाठ्यपुस्तक तथा स्टेशनरी सामग्री बिक्री वितरण गरिरहेको पाइएको उल्लेख गर्दै यस्तो अभ्यास तत्काल रोक्न केन्द्रले स्पष्ट निर्देशन दिएको छ।
केन्द्रले स्थानीय तहहरूसँग समन्वय गरी विद्यालयहरूमा आकस्मिक अनुगमन गर्न, नियम उल्लङ्घन गर्ने प्रकाशक वा विद्यालयलाई कानुनी दायरामा ल्याउन तथा सोसम्बन्धी विवरण केन्द्रमा पठाउन समेत आग्रह गरेको छ।
