घाेडाघाेडी ०६ वैशाख, / कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा बालबालिकाको आवाजलाई सशक्त बनाउने तथा बाल समृद्धिसम्बन्धी मुद्दालाई उजागर गर्ने उद्देश्यले सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
विकासका लागि युवा एक्यबद्धता (यार्ड) धनगढी र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो” परियोजनाअन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बालबालिकाको आवाजलाई बुलन्द बनाउने, उनीहरूका मुद्दामा प्रभावकारी पैरवी गर्ने तथा बालअधिकारसम्बन्धी सवाललाई सञ्चार माध्यममार्फत प्राथमिकताका साथ उठान गर्ने विषयमा पत्रकारहरूसँग व्यापक छलफल गरिएको थियो। विशेषगरी टीकापुर, भजनी, घोडाघोडी, गौरीगंगा नगरपालिका तथा कैलारी गाउँपालिकाका विभिन्न वडामा बालअधिकारका क्षेत्रमा कार्यरत यार्डले सरोकारवालाको भूमिकाबारे धारणा राखेको थियो।
यार्डका कार्यक्रम संयोजक पिताम्बर पौडेलले परियोजनामार्फत पाँच स्थानीय तहका २४ वडामा बालअधिकार प्रवर्द्धनका गतिविधि सञ्चालन भइरहेको जानकारी दिए। उनका अनुसार सन् २०२६ देखि २०३० सम्मका लागि तयार गरिएको रणनीतिक योजनाअनुसार बालहिंसा न्यूनीकरण, शिक्षामा पहुँच विस्तार तथा कुपोषण न्यूनीकरणका लागि कार्यक्रमहरू चरणबद्ध रूपमा कार्यान्वयन भइरहेको छ।
उनले सन् २०२६ देखि घोडाघोडी, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकामा परियोजनाले काम सुरु गरेको उल्लेख गर्दै सकारात्मक अभिभावकत्व शिक्षा, आत्मरक्षा तालिम तथा बाल सहभागिता अभिवृद्धि कार्यक्रम प्रभावकारी रहेको बताए। अभिभावकको साथ नपाउने बालबालिका बढी जोखिममा पर्ने र विद्यालय छाड्ने दर चुनौतीपूर्ण रहेको उनले बताए।
परियोजनाअन्तर्गत हालसम्म १५ विद्यालयका ३ हजार २ सय ५० बालबालिकालाई शैक्षिक सामग्री र स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। त्यस्तै, ३ हजार अभिभावकलाई अभिभावकत्व शिक्षा प्रदान गरिएको, १५ बालक्लबमार्फत २ हजार ८ सयभन्दा बढी बालबालिकाले सेवा लिएका छन् भने १५ विद्यालयका ४५ शिक्षकलाई एकीकृत पाठ्यक्रमसम्बन्धी तालिम प्रदान गरिएको जनाइएको छ। तालिमप्राप्त शिक्षकहरूले ह्वाट्सएप समूहमार्फत अनुभव आदानप्रदान गर्दै शिक्षणलाई प्रभावकारी बनाइरहेका छन्।
कार्यक्रम संयोजक पौडेलका अनुसार समुदाय तथा सरकारी निकायबाट प्राप्त सुझावका आधारमा बालहिंसा, कुपोषण र सिकाइसम्बन्धी समस्याहरू समाधान गर्न विभिन्न साझेदार संस्थासँग सहकार्य भइरहेको छ।
छलफलमा सहभागी शिक्षक, अभिभावक, बालबालिका तथा सञ्चारकर्मीहरूले अभिभावकको निगरानी अभावका कारण बालबालिकाको व्यवहारमा नकारात्मक प्रभाव पर्ने गरेको औंल्याए। प्रविधिको बढ्दो प्रयोग र बदलिँदो सामाजिक परिवेशका कारण बालबालिका थप जोखिममा परेको भन्दै असल अभिभावकत्वको खाँचो औंल्याइएको थियो।
सहभागीहरूले बालमैत्री समाज निर्माणका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेका थिए। आयोजक संस्थाले यस्ता कार्यक्रमले बालअधिकारप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ।
प्रकाशित मिती ७ बैशाख २०८३ ।

