घोडाघोडी ५ वैशाख // कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१ सुखडमा सञ्चालन हुँदै आएको कृषि हाटबजार स्थानीय उत्पादन, स्वस्थ जीवनशैली र ग्रामीण अर्थतन्त्र प्रवर्द्धन गर्ने केन्द्रका रूपमा विस्तार हुँदै गएको छ। सुखडस्थित हेलिप्याड क्षेत्रमा, सामुदायिक वनको क्षेत्राधिकारभित्र पर्ने उक्त हाटबजारमा स्थानीय कृषकहरूले आफ्नै बारीमा उत्पादन गरेका मौसमी तथा बेमौसमी तरकारी बिक्री वितरण गर्दै आएका छन्। हाटबजार हप्तामा दुई दिन—शनिबार र मंगलबार—लाग्ने गर्दछ।

यस हाटबजारमा स्थानीय उपभोक्ताहरू ताजा, स्वच्छ तरकारी तथा फलफूल किनमेल गर्न आउने गरेका छन्। किसानलाई प्राथमिकतामा राखिएको यस बजारमा अन्य व्यवसायीहरूले पनि कपडा, नास्ता तथा जुसका पसल सञ्चालन गर्दै आएका छन्, जसले बजारलाई थप सक्रिय बनाएको छ।तर, हाटबजार व्यवस्थापनमा केही चुनौतीहरू देखिएका छन्।

स्थायी जग्गा र संरचनाको अभावका कारण कृषक तथा व्यापारीहरू घामपानीबाट प्रभावित हुने जोखिममा छन्। स्थानीय सरोकारवालाहरूले कृषि हाटबजारको दीगो व्यवस्थापनका लागि स्थानीय सरकारले स्पष्ट रणनीतिक योजना बनाई आवश्यक पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिएका छन्।

यसैगरी, घोडाघोडी नगरपालिकाका अन्य प्रमुख बजार केन्द्रहरूमा समेत यस्ता कृषि हाटबजारलाई केन्द्रीकृत गरी राज्यले व्यवस्थित संरचना निर्माण गर्न सके कृषकहरूलाई थप सहज हुने अपेक्षा गरिएको छ। तर, राजनीतिक प्रभावका कारण स्थायी संरचना निर्माण प्रक्रिया अघि बढ्न नसकेको स्थानीयहरूको गुनासो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *