काठमाडौँ, २१ चैत २०८२प्रतिनिधि सभा सदस्य रिमा विश्वकर्मा ले आफू सांसद भइसकेपछि पनि जातीय विभेदको सामना गर्नुपरेको बताउँदै नेपाली समाजमा अझै गहिरो रूपमा असमानता जरा गाडेर बसेको यथार्थ उजागर गरेकी छन्।
राष्ट्रिय दलित आयोग ले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अपार्टमेन्ट खोज्ने क्रममा घरबेटीले नाम र जात सोधेर पछि हटेको अनुभव सार्वजनिक गरिन्।
उनका अनुसार काम सहज बनाउन आफू बस्ने स्थान नजिकै अपार्टमेन्ट खोज्ने जिम्मा परिवारका सदस्यलाई दिएकी थिइन्। ‘भाइले एक दिनमै अपार्टमेन्ट भेटियो भन्यो, म खुसी भएँ,’ उनले भनिन्, ‘तर पछि घरबेटीले नाम सोधे, त्यसपछि जात सोधे, अनि आनाकानी गर्नुभयो।’उनले उक्त घटना केवल व्यक्तिगत नभई समाजको समग्र अवस्थाको प्रतिनिधि उदाहरण भएको बताइन्।
‘देशको सांसदको हालत यस्तो छ भने समाजमा बाँकी दलित तथा सीमान्तकृत समुदायको अवस्था के होला?’ उनले प्रश्न गरिन्।विश्वकर्माले प्रतिनिधित्व केही बढे पनि व्यवहारमा अपेक्षित परिवर्तन अझै आउन नसकेको उल्लेख गर्दै जातीय विभेद अन्त्यका लागि ठोस पहल आवश्यक रहेकोमा जोड दिइन्।कार्यक्रममा उनले हालै उठेको सार्वजनिक क्षमा याचनाको विषयलाई सकारात्मक सुरुवातको रूपमा लिए पनि त्यसले मात्र युगौँदेखिको उत्पीडन अन्त्य नहुने बताइन्।
‘क्षमा याचना राम्रो सुरुवात हो, तर व्यवहारिक परिवर्तन अपरिहार्य छ,’ उनले भनिन्।नेपालमा कानुनी रूपमा छुवाछुत अन्त्य भइसके पनि व्यवहारमा अझै विभेद कायम रहेको उल्लेख गर्दै उनले यसलाई पूर्ण रूपमा अन्त्य भएको भन्न नसकिने स्पष्ट पारिन्।सांसद विश्वकर्माले आफू व्यक्तिगत मात्र नभई जनप्रतिनिधिका रूपमा पनि जातीय विभेद अन्त्यका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन्।
साथै, उनले सरकारलाई क्षमा याचनालाई केवल बहसमा सीमित नराखी ठोस नीतिगत तथा व्यवहारिक सुधारतर्फ अघि बढ्न सुझाव दिइन्।
