काठमाडौं — प्रतिनिधि सभाको सभामुख आइतबार चयन गरिने भएको छ। बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा रामचन्द्र पौडेलले बिहीबार दिउँसो २ बजे बस्ने गरी संसद् बैठक आह्वान गरेका हुन्।
संसद् बैठक सुरु भएकै दिन सभामुख चयन प्रक्रिया अघि बढाउने विषयमा प्रतिनिधित्व गर्ने दलहरूबीच सहमति जुटेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।सभामुखका लागि रास्वपाका उपसभापति डोल प्रसाद अर्याल (डीपी अर्याल) को नाम करिब टुंगो लागेको स्रोतले जनाएको छ। राजनीतिक अनुभव, समन्वयकारी क्षमता र संवैधानिक प्रक्रियामा पकड भएका कारण उनी उपयुक्त उम्मेदवार रहेको पार्टीभित्र धारणा छ ।अर्याल यसअघि दुई पटक श्रम तथा रोजगारमन्त्री भइसकेका छन्।
साथै, पार्टी सभापति रवि लामिछाने कानुनी प्रक्रियामा परेका बेला उनले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए।उपसभामुख पदका विषयमा भने अझै टुंगो लागेको छैन।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गबाट हुनुपर्ने प्रावधान छ। यसअनुसार उपसभामुख कुन दललाई दिने भन्ने विषयमा विभिन्न विकल्पमा छलफल भइरहेको छ।रास्वपाभित्र केही नेताहरू नेपाली कम्युनिस्ट पार्टी लाई उपसभामुख दिने पक्षमा देखिएका छन्।
संविधान संशोधन लगायतका विषयमा समन्वय सहज हुने उनीहरूको तर्क छ। तर अन्य दलहरू जस्तै नेपाली कांग्रेस, राप्रपा र श्रम संस्कृति पार्टीसँग पनि सम्भावनाबारे छलफल भइरहेको छ।संवैधानिक व्यवस्थाअनुसार संसद् पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने हुन्छ।
यी दुवै पद संवैधानिक परिषद्का सदस्य हुने भएकाले पनि राजनीतिक दलहरूबीच शक्ति सन्तुलन मिलाउने विषयमा चासो बढेको छ।
यसैबीच, रवि लामिछानेले पार्टी र सरकारबीच समन्वय सुदृढ बनाउन १० सदस्यीय विशेषज्ञ टोली गठन गर्ने तयारी पनि थालेका छन्। एक मन्त्री बराबर चार सांसदको अवधारणामा आधारित टोलीमार्फत सरकारको कामलाई प्रभावकारी बनाउने योजना रहेको बताइएको छ।
