लम्कीचुहा नगर इसाई समाजद्वारा गुड फ्राइडेमा सांस्कृतिक कार्यक्रम तथा रक्तदान शिविर आयोजना
लम्कीचुहा १७ चैत्र । कैलाली जिल्ला लम्कीचुहा नगर इसाई समाजले यही चैत २० गते गुड फ्राइडेको अवसर पारेर विशेष ख्रीष्टियन सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम सञ्चालनका विषयमा चैत १७ गते आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै नगर इसाई समाजका अध्यक्ष चेतराज जोशीले परमेश्वरको महान प्रेम सन्देश फैलाउने उद्देश्यले कार्यक्रमसँगै रक्तदान शिविर पनि सञ्चालन गरिने बताए।
“परमेश्वरको प्रशंसा गाओ, स्तुति गाओ। हाम्रा राजाको प्रशंसा गाओ, स्तुति गाओ।” भन्ने भजनसंग्रह ४७:६ लाई प्रमुख नाराका रूपमा अघि सारिएको छ।
कार्यक्रममा नेपाल राष्ट्रिय इसाई समाजका अध्यक्ष चन्द्रबहादुर थापाले परमेश्वरले सबै जातिका लागि रगत बहाएर महान प्रेम देखाएको उल्लेख गर्दै सोही सन्देशलाई आत्मसात् गर्दै रक्तदानमार्फत मानव सेवामा लाग्न सबैलाई आग्रह गरे। साथै उनले यस्ता कार्यक्रमले सांस्कृतिक संरक्षण र सामाजिक सद्भाव प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा अन्य अतिथिहरूले पनि गुड फ्राइडेको शुभकामना व्यक्त गर्दै यसको धार्मिक तथा सामाजिक महत्त्वबारे प्रकाश पारेका थिए।
सांस्कृतिक कार्यक्रममा लोक तथा देउडा गायिका इप्सल सन्जेल, गायक रवि शर्मा र गायक श्याम शाहुको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।
लम्कीचुहा नगरपालिका–२ गणेशपुर चोकमा आयोजना हुने उक्त कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने र इच्छुक सबैलाई निःशुल्क सहभागी हुन सकिने जानकारी आयोजकले दिएको छ।





