धनगढी, १६ चैत / नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा कैलालीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ कैलाली जिल्ला शाखाका अध्यक्ष श्रवण देउबाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाभर क्रियाशील पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमबारे जानकारी दिँदै महासंघको स्थापना दिवसको अवसर पारेर पत्रकारहरूबीच आपसी समन्वय र सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएका थिए ।

कार्यक्रममा अध्यक्ष देउबाले ‘मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार, श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो सरोकार’ भन्ने मूल नारालाई आत्मसात गर्दै जिम्मेवार र उत्तरदायी पत्रकारिता गर्नुपर्नेमा जोड दिएका थिए । उनले पत्रकारितालाई अझ विश्वसनीय र मर्यादित बनाउन प्रत्येक पत्रकारले आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताए।

शुभकामना मन्तव्य राख्ने अधिकांश वक्ताहरूले पनि पत्रकारितामा मर्यादा कायम राख्दै सत्य र निष्पक्ष सूचनाको प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। साथै प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न राज्य तथा सम्बन्धित निकायको ध्यान जानुपर्ने धारणा व्यक्त गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले पत्रकारहरू अब मल्टिमिडियातर्फ उन्मुख हुनुपर्ने, साथै मिडिया हाउसहरूले पनि प्रविधिसँग जोडिएर सृजनात्मक र प्रभावकारी सामग्री उत्पादनमा अग्रसर हुनुपर्ने सुझाव दिएका थिए।

स्थापना दिवसका अवसरमा आयोजित उक्त कार्यक्रमले कैलालीका पत्रकारहरूबीच एकता, सहकार्य र पेशागत जिम्मेवारीप्रति थप सचेतना अभिवृद्धि गरेको सहभागीहरूले बताएका छन् ।

धन्यवाद आफ्नो प्रतिक्रिया दिनुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *