काठमाडौं १३ चैत्र २०८२ // बालेन्द्र शाह नेतृत्वको सरकारमा श्रममन्त्री नियुक्त भएका दीपक कुमार साह को विगतको ठगी आरोप सार्वजनिक भएसँगै विवाद सुरु भएको छ।
२०७३ साल असोज १२ गते ठगी आरोपमा पक्राउ परेका साह अहिले मन्त्री बनेपछि सामाजिक सञ्जाल र विभिन्न वृत्तमा आलोचना भइरहेको छ।
प्रहरीका अनुसार साहले एमबीबीएस परीक्षामा पास गराइदिने प्रलोभन देखाएर ठगी गरेको आरोप लागेको थियो। उनले काठमाडौंको पुतलीसडकस्थित “वल्र्ड वाईड कन्सल्टेन्सी” मार्फत उक्त कार्य गरेको बताइएको थियो। सो घटनामा तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा उनले आफूलाई डाक्टर बताउँदै ठगी गर्ने गरेको खुलेको थियो भने उनी वास्तविक चिकित्सक नभएको पनि पुष्टि भएको प्रहरीले जनाएको थियो।
यस्तो विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई श्रममन्त्री बनाइएको भन्दै सरकारको निर्णयप्रति प्रश्न उठ्न थालेको छ। सरकार गठनसँगै आएको यो विवादले आगामी दिनमा थप राजनीतिक बहस सिर्जना गर्ने देखिन्छ।

