चिडियाताल युथ क्लब च्याम्पियन, बडिमालिका १४० रनले पराजित

घोडाघोडी, ३ माघ । कैलालीको घोडाघोडी नगरपालिका–१ ज्वालनगर खेलमैदानमा जारी घोडाघोडी नगरस्तरीय प्रथम क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत माघ ३ गते भएको फाइनल खेलमा चिडियाताल युथ क्लब विजयी बनेको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै चिडियातालले आयोजक बडिमालिका युथ क्लबलाई १४० रनले पराजित गरेको हो।

पुस ३० गतेदेखि निरन्तर सञ्चालन भएको प्रतियोगिताको चाैथाे दिनमै भव्य रूपमा फाइनल खेल सम्पन्न भएको थियो।

समापन तथा पुरस्कार वितरण कार्यक्रम बडिमालिका युथ क्लबका अध्यक्ष नरेश जंग शाहीको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका मेयर खडक बहादुर रावत, विशिष्ट अतिथि वडा नं. १ का वडा अध्यक्ष घनश्याम ओझा सहित अन्य सम्माननीय अतिथि, खेलाडी तथा खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति थियो।

फाइनल प्रतिस्पर्धात्मक र आकर्षक बनेको खेलमा चिडियाताल युथ क्लबले बलियो प्रदर्शन गर्दै च्याम्पियनको उपाधि जित्यो। विजेता टोलीलाई २५ हजार रुपैयाँ नगद, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको छ। उपविजेता बडिमालिका युथ क्लबलाई १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको हो।

समारोहका प्रमुख अतिथि मेयर रावतले विजयी टोलीलाई बधाइ दिँदै खेलकुदले युवामा अनुशासन, नेतृत्व, ऊर्जा र दिगो समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सफल आयोजनाका लागि बडिमालिका युथ क्लबलाई धन्यवाद ज्ञापन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *