बौनियामा बी.वाई.सी. खुल्ला फुटबल प्रतियोगिता २०८२ सम्पन्न, जोशीपुर युनिटी स्पार्क बन्याे च्याम्पियन
बौनियामा बी.वाई.सी. खुल्ला फुटबल प्रतियोगिता सम्पन्न, जोशीपुर युनिटी स्पार्क च्याम्पियन
बौनिया,जाेशीपुर, कैलाली | माघ १७, २०८२

कैलाली जिल्लाको जोशीपुर गाउँपालिका–गैला बौनिया स्थित रघुनाथ माध्यमिक विद्यालयको खेलमैदानमा बी.वाई.सी. (B.Y.C.) युवा क्लबको आयोजनामा सञ्चालन गरिएको “बृहत् खुल्ला फुटबल प्रतियोगिता–२०८२” शनिबार भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका सभाअध्यक्ष बी.वाई.सी. युवा क्लबका अध्यक्ष बुधराम कुमाल तथा प्रमुख अतिथि जोशीपुर गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष बमबहादुर शाहको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा विभिन्न खेलप्रेमी अतिथिहरूको विशेष उपस्थिति रहेको थियो।

“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने मूल नारासहित सरस्वती पूजाको अवसर पारेर माघ ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेलमा जोशीपुर युनिटी स्पार्क क्लबले एपीएफ अत्तरीयालाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विजेता बनेको जोशीपुर युनिटी स्पार्क क्लबले नगद रु. ५०,०००, आकर्षक ट्रफी तथा मेडल प्राप्त गरेको छ। उपविजेता एपीएफ अत्तरीयाले दोस्रो स्थानको पुरस्कार प्राप्त गरेको छ।

९ दिनसम्म सञ्चालन भएको यस प्रतियोगितामा कुल २० टिमको सहभागिता रहेको थियो। सहभागी टिममध्ये १८ वटा बाहिरी क्षेत्रका र २ वटा स्थानीय टिम रहेका थिए, जसले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको थियो।
समापन कार्यक्रममा आयोजक क्लबका तर्फबाट अध्यक्ष बुधराम कुमालले प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति, संघ–संस्था, सुरक्षाकर्मी तथा दर्शकप्रति धन्यवाद व्यक्त गर्नुभयो।

खेल संयोजक मिलन हमालले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै क्षेत्रीय खेलकुद विकासमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो। बौनिया क्षेत्रकै प्रतिष्ठित खेल उत्सवका रूपमा स्थापित हुँदै गएको यस प्रतियोगिताले युवाहरूबीच आपसी एकता, सहकार्य र भ्रातृत्वको भावना विकास गर्न सफल भएको आयोजकको विश्वास छ।
धन्यबाद समचार पढेर साथ दिनुभएकाे लागी । प्रतिक्रया दिनुहाेला ।।





