घोडाघोडी, ३० पुस २०८२ ।। बडिमालिका युथ क्लबको आयोजनामा घोडाघोडी नगरस्तरीय प्रथम क्रिकेट प्रतियोगिता २०८२ आज एक विशेष समारोहबीच भव्य रूपमा उद्घाटन गरिएको छ।

उद्घाटन समारोहमा बडिमालिका युथ क्लबका अध्यक्ष नरेश जंग शाहीले अध्यक्षता गरेका थिए भने, घोडाघोडी नगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि खडक बहादुर रावतले प्रतियोगिता उद्घाटन गर्दै खेलले युवालाई अनुशासित, अनुशरणीय र राष्ट्र विकासमा सक्षम बनाउन विशेष भुमीका रहने उल्लेख गरेका थिए। छोटो समयमै नगरस्तरको आयोजना सफलतापूर्वक गर्न सकेकोमा क्लबप्रति प्रशंसा व्यक्त गर्दै उहाँले सफलताको शुभकामना दिएका थिए।

विशिष्ट अतिथिका रूपमा घोडाघोडी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष घनश्याम ओझाले युवालाई कुलतबाट अलग राखी सकारात्मक मार्गमा अघि बढाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। खेल गतिविधिमा साथ र सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै उनले आयोजक टिमलाई धन्यवाद ज्ञापन सहित शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद गौतम, घोडाघोडी सञ्चारकर्मी समूहका अध्यक्ष खेम ढुङ्गाना, ज्वालानगर सामुदायिक बनका अध्यक्ष दिलिप सिंह भाट, जनज्योति माविका प्रधानाध्यापक दिपेन्द्र सुवेदीलगायत अन्य अतिथिहरू तथा स्थानीय खेलकुदप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्वागत मन्तव्य क्लबका सदस्य तथा जनहित खबरका सञ्चालक रोशन रसाइलीले प्रस्तुत गर्दै “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने नारालाई जोड दिए। कार्यक्रमको सञ्चालन क्लबका उपाध्यक्ष भजनबहादुर शाहीले गरेका थिए।

आयोजकका अनुसार प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ र तीन दिनसम्म खेल प्रतिस्पर्धा जारी रहने आयोजकले जानकारी दिएका थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *