अध्यक्ष कप खेलकुद प्रतियोगिताको मोहन्यालमा भव्य उद्घाटन
मोहन्याल, २६ पुस । कैलालीको मोहन्याल गाउँपालिकामा आयोजना गरिएको अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८२ को भव्य उद्घाटन भएको छ । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री माननीय रामेश्वर चौधरीले शुक्रबार विशेष समारोहका बीच प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।

गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायको अध्यक्षत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन वडा नं. २ का वडा सचिव हिक्मत राना मगरले गर्नुभएको थियो । प्रतियोगिता पुस २६ देखि २८ गतेसम्म मोहन्याल–२ कोल्तडीमा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने भएको छ ।
मोहन्याल गाउँपालिकाको आर्थिक सहयाेगमा सुरु भएको प्रतियोगितामा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले उक्त प्रतियाेगिताकाे शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम शिक्षा शाखाका सहायक कविराज धामीको स्वागत मन्तव्यसहित सुरु भएको थियो ।

कार्यक्रममा वडा नं. १ का अध्यक्ष पिरम बुढा, वडा नं. २ का अध्यक्ष जयप्रकाश मल्ल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले भने क्रमशः मन्तव्य राख्दै प्रतियोगिताले स्थानीय युवामा खेलकुदप्रतिको आकर्षण र प्रतिभा प्रवर्द्धन हुने विश्वास व्यक्त गरे ।
उद्घाटन सत्रलाई समापन गर्दै गाउँपालिका अध्यक्ष उपाध्यायले प्रतियोगिताले गाउँपालिकाको खेलकुद क्षेत्रमा नयाँ ऊर्जा भर्ने बताउनुभयो ।

