कुलमानजनहित खबर

काठमाडौँ २६ पुष — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहमति गरेपछिका १२ दिन आफ्नो पार्टीका लागि ‘अत्यन्तै पीडादायी’ भएको बताएका छन्। उनले रास्वपाले एकतर्फी रूपमा सहमति तोडेका कारण पार्टीले ठूलो क्षति व्यहोर्नुपरेको दाबी गरेका हुन्।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घिसिङले पुस १४ गते भएको ७ बुँदे लिखित सहमति तथा अलिखित सम्झौता दुवैमा रास्वपाले प्रतिबद्धता नदेखाएको बताए।

उनका अनुसार समानुपातिक सूचीमा सहकार्यका लागि उज्यालो नेपालले ‘महत्वपूर्ण त्याग’ गरे पनि रास्वपाले निर्णयमा ढिलाइ गर्दै अन्ततः एकतर्फी रूपमा सहमति तोडेको घोषणा गर्‍यो।
घिसिङले भने,
“लामो समय सहमतिका विषयमा इन्गेज रहनुपर्दा पार्टीले संगठनात्मक, समय र ऊर्जाको गम्भीर क्षति बेहोर्नुपर्‍यो।”

अध्यक्ष घिसिङले संविधान, संघीयता र समावेशितासम्बन्धी पूरक सहमति गर्ने मौखिक समझदारी भए पनि रास्वपाले अन्तिम समयमा त्यसमा रुचि नदेखाएको आरोप लगाए।
उनका अनुसार रास्वपा नेतृत्वले सुरुमा सहमति जनाए पनि पछि पूर्ण रूपमा पछि हट्यो।

घिसिङले रास्वपाको ‘एकतर्फी निर्णय’सँगै सहकार्यको सम्भावना अन्त्य भएको बताए। उनले उज्यालो नेपालले अब आफ्नै बाटो पहिल्याउने र संगठन विस्तारमा केन्द्रित हुने स्पष्ट उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *