जनहित खबर

Janahit khabar

शिक्षा समाचार

विव्यस गठनमा अन्योल : सहजीकरण नगरी तेस्रो अभिभावक भेला बोलाएको भन्दै उम्मेदवारको आपत्ति

घोडाघोडी २८ गते २०८३ // कैलालीको घोडाघोडी नगरपालिका–८ तारानगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन प्रक्रिया विवादित बनेको छ। दोस्रो अभिभावक भेलाबाट उम्मेदवारहरू छनोट भइसकेपछि उनीहरूबीच सहजीकरण नगरी विद्यालयले तेस्रो अभिभावक भेला बोलाएको भन्दै उम्मेदवारहरूले आपत्ति जनाएका छन्।

विद्यालयमा असार २५ गते बोलाइएको पहिलो अभिभावक भेलामा गणपूरक संख्या नपुगेपछि असार २७ गते दोस्रो भेला बोलाइएको थियो। दोस्रो भेलामा विव्यस सदस्यका लागि अभिभावकहरूबाट करिब १३ जनाले उम्मेदवारी दिएका थिए। सोही क्रममा शिक्षा नियमावलीअनुसार योग्यता नपुगेका वा अन्य कारणले केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए। तर बाँकी उम्मेदवारबीच सहमति कायम हुन नसकेपछि बैठक स्थगित गरिएको थियो। बैठकमा विद्यालय सञ्चालनका लागि भएको बर्खे बिदापछि उम्मेदवारहरूबीच सहजीकरण बैठक बसाएर सहमतिमार्फत विव्यस गठन प्रक्रियालाई टुंग्याउने भनिएको उम्मेदवारहरूको दाबी छ।

उम्मेदवारहरूसँग सहजीकरण बैठक नै नबसी विद्यालयले पुनः तेस्रो अभिभावक भेला बोलाएको भन्दै उनीहरूले विद्यालय प्रशासनको निर्णयप्रति प्रश्न उठाएका छन्। उनीहरूको आरोपमा, दोस्रो भेलाबाट उम्मेदवारी प्रक्रिया अघि बढिसकेको अवस्थामा त्यसलाई टुंगोमा पुर्‍याउनुको सट्टा नयाँ भेला बोलाउनु अभिभावक तथा उम्मेदवारलाई अन्योलमा राख्ने कदम हो।

उम्मेदवारहरूले भनेका छन्, “दोस्रो भेलाबाट उम्मेदवारी प्रक्रिया अघि बढिसकेको अवस्थामा बाँकी उम्मेदवारलाई बोलाएर सहजीकरण गरी सहमतिमा पुग्ने वातावरण बनाउनुपर्ने थियो। तर कुनै बैठक नबसी तेस्रो भेला बोलाइनु विद्यालय प्रशासनको गैरजिम्मेवार निर्णय हो।”उनीहरूले शिक्षा शाखाको भूमिकामाथि समेत प्रश्न उठाएका छन्। विद्यालय व्यवस्थापन समिति गठनका क्रममा विद्यालयले अभिभावक भेला बोलाउने, उम्मेदवारबीच सहजीकरण गर्ने र कानुनी प्रक्रियाअनुसार समिति गठनको वातावरण बनाउने जिम्मेवारी निर्वाह गर्नुपर्ने उनीहरूको भनाइ छ। विवाद वा कानुनी जटिलता उत्पन्न भएमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखाले कानुनी आधारमा समाधानको बाटो देखाउनुपर्ने भए पनि विद्यालय र शिक्षा शाखाले एक–अर्कालाई जिम्मेवार देखाउँदै उम्किन खोजेको आरोप उनीहरूको छ। यता, दोस्रो भेलामा उम्मेदवारी दिएका व्यक्तिहरूलाई प्रक्रिया टुंगो नलगाई नयाँ अभिभावक भेला बोलाइनुले अघिल्लो भेलाको प्रक्रियालाई नै ढाकछोप बनाउने प्रयास भएको हुनसक्ने उम्मेदवारहरूको आशंका छ।

उनीहरूले नयाँ अभिभावक भेला गराएर आफूअनुकूलको नेतृत्व चयन गर्ने वातावरण बनाउन खोजिएको दाबीसमेत गरेका छन्।उम्मेदवारहरूको आरोपमा, दोस्रो भेलाबाट योग्य व्यक्तिहरूले उम्मेदवारी दिएको अवस्थामा उनीहरूसँग समन्वय र सहजीकरण नगरी पुनः नयाँ उम्मेदवारका लागि वातावरण तयार गर्नु पारदर्शी प्रक्रिया होइन। यसले विव्यस गठनमा थप विवाद सिर्जना गर्नुका साथै विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिमा समेत असर पार्न सक्ने उनीहरूको भनाइ छ। विव्यस गठनको जिम्मेवारी विद्यालय प्रशासनको हो वा स्थानीय तहको शिक्षा शाखाको भन्ने विषयमा समेत अन्योल देखिएको उम्मेदवारहरूको भनाइ छ। उनीहरूले विद्यालय र शिक्षा शाखाले स्पष्ट जिम्मेवारी लिएर विद्यमान उम्मेदवारहरूबीच सहजीकरण गर्दै कानुनी प्रक्रियाअनुसार विव्यस गठन गर्नुपर्ने माग गरेका छन्।

उम्मेदवारहरूले तेस्रो अभिभावक भेला बोलाउने निर्णय पुनर्विचार गरी दोस्रो भेलाबाट अघि बढेको प्रक्रियालाई कानुनी आधारमा टुंग्याउन आग्रह गरेका छन्।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *