कैलाली, २५ साउन । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मूल्यमान्यतालाई आत्मसात् गर्दै आयुष विश्वकर्माले आफ्नो १३औँ जन्मोत्सव असहाय वृद्ध आमाहरूसँग मनाएका छन्।

बर्दगोरिया गाउँपालिकामा अवस्थित सहारा घरमा पुगेर आयुषले त्यहाँ आश्रित वृद्ध तथा असहाय आमाहरूलाई खिर र फलफूलसहित एक छाक भोजन गराएर जन्मोत्सव मनाएका हुन्।
जोशीपुर जेसीज वर्ष २०२६ का उपाध्यक्ष लक्ष्मण विकले आफ्नो भतिज आयुष विश्वकर्माको जन्मदिनको अवसरमा गरिने खर्चलाई सामाजिक सेवामा लगाउँदै उदाहरणीय रूपमा परिवार सहित जन्मोत्सव मनाएको बताएका हुन्। उनका बुबा रामसिंह विश्वकर्मा र आमा रेखा विश्वकर्माका छोरा आयुषले जन्मदिनको अवसरलाई मानव सेवासँग जोडेर मनाउने निर्णय गरेका थिए।
जन्मोत्सव कार्यक्रममा जोशीपुर जेसीज वर्ष २०२६ का अध्यक्ष जीवनलाल डगौरा तथा जेसीजको टोलीको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा सहारा घरमा रहेका आमाहरूका लागि भोजन सेवा गरिएको थियो।
जोशीपुर जेसीज वर्ष २०२६ का अध्यक्ष जीवनलाल डगौराले जेसीजमा आबद्ध सदस्यहरू सामाजिक सेवामा निरन्तर अग्रसर रहेको बताए। समाजमा रहेका असहाय, कमजोर तथा सहयोगको आवश्यकता भएका व्यक्तिलाई सहयोग गर्नु नै वास्तविक मानवता भएको उनको भनाइ थियो।
“जन्मोत्सवलाई केवल व्यक्तिगत खुसीको अवसर नबनाई असहाय नागरिकसँग खुसी साट्नु आफैँमा उदाहरणीय कार्य हो,” डगौराले बताए।
यस्तै, सहारा घरका सञ्चालक बलबहादुर विष्टले विभिन्न उत्सव तथा विशेष अवसरमा सहारा घरमा आएर असहाय नागरिकलाई सहयोग गर्ने व्यक्ति तथा परिवारप्रति आभार व्यक्त गरे। जन्मदिन, विवाहलगायतका खुसीका अवसरमा सहारा घरमा आएर सहयोग गर्ने परम्पराले आश्रित आमाहरूमा खुसी ल्याउने गरेको उनले बताए।
आयुष विश्वकर्माको १३औँ जन्मोत्सवमा गरिएको भोजन सेवा र सामाजिक सहभागिताले जन्मदिनलाई केवल व्यक्तिगत उत्सव नभई मानव सेवासँग जोडेर मनाउन सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ।





