जनहित खबर

Janahit khabar

समाचार

सामुदायिक एकता समाजको दोस्रो साधारण सभा सम्पन्न,

टीकापुर, २४ साउन । ‘सामुदायिक सहभागिता सहित अघि बढौँ, सामुदायिक एकता र सद्भाव कायम गरौँ’ भन्ने नारासहित सामुदायिक एकता समाजको दोस्रो साधारण सभा सम्पन्न भएको छ।

टीकापुर नगरपालिका वडा नं १ एकतापुर मा समाजमा मेलमिलाप, आपसी सद्भाव तथा सामाजिक एकता कायम गर्दै विभिन्न जातजाति, भाषा, धर्म, वर्ण, लिङ्ग तथा क्षेत्रलाई एकताबद्ध गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाले मौलिक हक तथा व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्दै पुरातन सोचबाट आधुनिक चेतनातर्फ समाजलाई अघि बढाउने लक्ष्य लिएको जनाएको छ।वि.सं. २०८२/०७ मा विभिन्न आरोह–अवरोहका बीच जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भएको संस्थाले हालसम्म करिब ९०० सदस्यता वितरण गरिसकेको जनाएको छ। संस्थाको प्रधान कार्यालय टीकापुर नगरपालिका–१, एकतापुरमा रहेको छ।

बहुआयामिक उद्देश्य बोकेको संस्थाले हाल समुदायको सहभागिता र संस्थाको लगानीमा मौरीपालनलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ। मौरीपालनबाट ९८ हजारभन्दा बढीको मह उत्पादनसाधारण सभामा संस्थाका अध्यक्ष दन्तबहादुर शाहीले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।प्रतिवेदनअनुसार १ लाख ६ हजार रुपैयाँबाट प्रारम्भ भएको संस्थाले मौरीपालनमा ८२ हजार ६ सय रुपैयाँ लगानी गरेको र सोबाट ९८ हजार २ सय ७० रुपैयाँ बराबरको मह उत्पादन गरेको जनाएको छ।

अध्यक्ष शाहीले संस्था प्रारम्भिक चरणमै रहे पनि विभिन्न चुनौती र समस्याका बाबजुद अघि बढ्ने प्रयास भइरहेको बताए। संस्थालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी, सञ्चालक समिति, सल्लाहकार समिति तथा सदस्यहरूलाई उनले धन्यवाद व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिका–१ का वडाध्यक्षले संस्थाको सफलताको शुभकामना दिँदै संस्थामा आबद्ध सदस्यहरूलाई व्यावसायिक गतिविधि तथा आर्थिक समृद्धितर्फ सक्रिय हुन आग्रह गरे। उनले संस्थालाई दिगो रूपमा सञ्चालन गर्न सञ्चालक समितिले संस्थाको संरक्षण र विकासमा विशेष ध्यान दिनुपर्ने बताए। स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे। वडाध्यक्षले भूमिहीन तथा सुकुम्बासी बस्तीका नागरिकलाई लालपुर्जा वितरणका लागि स्थानीय सरकार प्रयासरत रहे पनि विभिन्न बाधा–अवरोधका कारण अपेक्षित रूपमा काम सम्पन्न हुन नसकेको बताए। दुई तिहाइको सरकारको पहलमा भूमिहीन तथा सुकुम्बासी नागरिकलाई लालपुर्जा वितरणका लागि आवश्यक सहजीकरण गर्न स्थानीय सरकार नागरिकको पक्षमा रहेको उनको भनाइ थियो।

‘संस्थालाई उत्पादनमुखी बनाउनुपर्छ’ भन्दै कार्यक्रमका विशिष्ट अतिथि तथा टीकापुर नगरपालिकाका कार्यपालिका सदस्य दीपक निशानीले संस्थामा आबद्ध सदस्यलाई उत्पादनमुखी गतिविधिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। उनले स्थानीय हाटबजार तथा बजारमा उत्पादन बिक्री–वितरण गरी सदस्यहरूको जीविकोपार्जनमा सहयोग पुर्‍याउने संस्थाका रूपमा सामुदायिक एकता समाजलाई स्थापित गर्न सुझाव दिए। भूमिहीन तथा सुकुम्बासी नागरिकको हक–अधिकार हरण गर्ने र उनीहरूको बस्तीमा डोजर चलाउने कार्य कुनै पनि हालतमा हुन नदिने प्रतिबद्धता पनि निशानीले व्यक्त गरे।

कार्यक्रममा अतिथि सीता चौधरीले संस्थाको साधारण सभाको सफलताको शुभकामना दिँदै संस्थामा आबद्ध सदस्यहरूको भूमिसम्बन्धी अधिकार सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताइन्। भूमिहीन नागरिकको पक्षमा रही यथाशीघ्र लालपुर्जा वितरणका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो। त्यस्तै, अतिथि इन्द्रबहादुर रावलले संस्थाको वार्षिक साधारण सभा सफलताको शुभकामना व्यक्त गरे।‘एकतासँगै आयआर्जन र उत्पादनमा जोड दिनुपर्छ’अतिथि जयकृष्ण चौलागाईंले सम्पूर्ण समुदाय एकताबद्ध भएर संस्थामार्फत आयआर्जन तथा उत्पादनमूलक गतिविधिमा जोड दिनुपर्ने बताए। उनले आर्थिक रूपमा कमजोर तथा भूमिहीन नागरिकको भूमिसम्बन्धी अधिकार सुनिश्चित गर्न र सरकारले नागरिकको भूमि व्यवस्थापनका लागि विशेष पहल गर्नुपर्नेमा जोड दिए। स्टन्टबाजीभन्दा सत्यतथ्यका आधारमा भूमिहीन तथा सुकुम्बासी नागरिकलाई लालपुर्जा वितरण गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा टीकापुर नगरपालिका–१ का वडाध्यक्ष प्रमुख अतिथिका रूपमा सहभागी थिए। विशिष्ट अतिथिका रूपमा टीकापुर नगरपालिकाका कार्यपालिका सदस्य दीपक निशानी र टीकापुर भूमिहीन सुकुम्बासी संघर्ष समितिका संयोजक पूर्णबहादुर खड्का सहभागी थिए।त्यस्तै, कार्यक्रममा इन्द्रबहादुर रावल, जयकृष्ण चौलागाईं, सीता चौधरीलगायतको उपस्थिति रहेको थियो। जनहित खबरका प्रकाशक रोशन रसाइलीसहित संस्थाका सदस्यहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

यो समाचार तपाईँलाई पढेर कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *