जनहित खबर

Janahit khabar

शिक्षा समाचार

बाल अधिकार र समृद्धिका लागि सञ्चारकर्मीसँग अन्तरक्रिया

भजनी, २२ साउन । बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजनाअन्तर्गत यार्ड संस्थाले बालबालिकाको आवाजलाई सशक्त बनाउँदै बाल अधिकार तथा बाल समृद्धिका विषयमा सञ्चारकर्मीसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

मलवारा डल्फिन मिडिया मञ्चमा आबद्ध सञ्चारकर्मीहरूसँग भजनीमा आयोजित कार्यक्रममा बालबालिका, अभिभावक तथा सञ्चारकर्मीबीच बालमैत्री शासनका लागि संस्थाले समुदायमा गर्दै आएका गतिविधिले पारेको प्रभाव, देखिएका चुनौती तथा समस्या समाधानका विकल्पबारे वृहत् छलफल गरिएको थियो ।

कार्यक्रममा अभिभावक पुष्पा चौधरीले यार्ड, बालकल्याण संघ र वर्ल्ड भिजनजस्ता संस्थाले बालमैत्री शासनका लागि समुदायस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकाले स्थानीय समुदायमा संस्थाका गतिविधिबारे जानकारी बढेको बताइन् ।

उनले संस्थाहरूले बालबालिकाका लागि पोषणयुक्त खाना, लागूऔषध दुव्र्यसन तथा बालविवाह न्यूनीकरणलगायतका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै विगतमा कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई कापी, कलम र झोलालगायतका शैक्षिक सामग्री उपलब्ध गराउने गरिए पनि अहिले उक्त सहयोग बन्द हुँदा विपन्न परिवारका बालबालिका समस्यामा परेको बताइन् ।

त्यस्तै, अभिभावक दुर्गादेवी साउँदले बालबालिका लागूऔषध दुव्र्यसनमा फस्ने क्रम बढ्दै गएको भन्दै अभिभावक चिन्तित रहेको बताइन् ।

अभिभावक तारिका साउँदले संस्थाहरूले समुदायस्तरमा बाल क्लब गठन, लागूऔषध दुव्र्यसनसम्बन्धी अभिमुखीकरण, बालविवाह न्यूनीकरणलगायतका कार्यक्रम सञ्चालन गर्दा बालबालिकाले आवश्यक अभिभावकत्व र मार्गदर्शन पाउन सहयोग पुगेको बताइन् ।

वरिष्ठ पत्रकार जयबहादुर बुढाले स्थानीय तहमा बालबालिकाको अधिकार सुनिश्चित गर्न बालमैत्री ऐन निर्माणका लागि सबै पक्षको पहल र प्रयास आवश्यक रहेको बताए । उनका अनुसार बालमैत्री स्थानीय शासन प्रभावकारी बनाउन अभिभावक, बालबालिका, शिक्षक, जनप्रतिनिधि लगायत सरोकारवालासँग छुट्टाछुट्टै छलफल आवश्यक छ ।

“बालमैत्री स्थानीय शासनका ५१ वटा सूचक पूरा हुने गरी पालिकास्तरबाट कार्यविधि निर्माण गरेर कार्यक्रम सञ्चालन गर्नुपर्छ । त्यसो भएमा मात्र बालबालिकालाई सही मार्गदर्शन दिन सकिन्छ,” वरिष्ठ पत्रकार बुढाले भने ।

गणेशमान आधारभूत विद्यालय चर्राका प्रधानाध्यापक जादोलाल रायले समुदायमा बालबालिकासँग सम्बन्धित विभिन्न समस्या रहेकाले त्यसको न्यूनीकरणमा अभिभावकको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले बालबालिकाको पोषणयुक्त खानपान, दिवा खाजा, मोबाइलको अत्यधिक प्रयोग तथा मोबाइल एडिक्सनजस्ता विषयमा अभिभावकले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बाल अधिकार, बालमैत्री स्थानीय शासन, बालविवाह, लागूऔषध दुव्र्यसन, पोषण तथा बालबालिकाको समग्र विकासका लागि समुदाय, सञ्चारमाध्यम, विद्यालय, अभिभावक र स्थानीय तहबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।

समाचार प्रकाशित २०८३/साउन/२३ जनहित खबर

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *